लन्डन । ब्रेक्जिटबारे चेकर्स योजनाको विरुद्धमा भएका आलोचकले बेलायतको यूरोपेली यूनियनबाट बहिर्गमन सम्बन्धमा राजनीतिक सौदाबाजी गरेको प्रधानमन्त्री टेरिजा मेले आइतबार बताएकी छिन् ।
बेलायती पत्रिका सण्डे टाइम्सलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्रीले ब्रेक्जिटलाई देखाएर अनावश्यक राजनीति गरेको आरोप लगाएकी हुन् । उनले चेकर्सको कार्यक्रम ब्रेक्जिटलाई अघि बढाउने व्यवहारिक रणनीति मात्र हो ।
उनले आफूले प्रधानमन्त्रीका रूपमा अझै दीर्घकालीन काम गर्न लागेको सङ्केत गरिन् । बेलायत र इयूबीच ‘साझा कानुन’मार्फत सामान आदानप्रदान गर्ने आफ्नो योजना सार्वजनिक गर्दै मेले भनिन्, ‘सेवाका लागि भने छुट्टै आधार तय हुनेछ ।’ उत्तरी आएरल्याण्ड तथा आइरिस गणतन्त्रबीचको कठोर सीमानीतिलाई सम्बोधन गर्ने विश्वसनीय आधार खोजिने पनि बताइन् ।
मेको रणनीतिलाई ब्रेक्जिट पक्षधरबाट नै कडा रूपमा आलोचित बनेको छ । उनीहरूले मेको चेकर्स योजनाले बेलायतको सार्वभौमसत्तामाथि सम्झौता गर्ने र सन् २०१६ को जनमतसङ्ग्रहको मतदानलाई धोखा दिने बताए ।
पूर्व विदेशमन्त्री बोरिस जोनसनले प्रधानमन्त्री मे ब्रेक्जिट धारणाबाट ‘विचलित’ भएको बताएकी छन् ।






