
लन्डन ३ मे २०२५ ।बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती राजा चाल्र्स तृतीयले नेपालको सहयोगमा बेलायती साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभएको जानकारी दिएका छन् । आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएपछि दूतावासमा आयोजित विशेष कार्यक्रममा उनले राजा चार्ल्सको नेपाल र नेपाली जनताप्रति माया, सद्भाव रहेको बताउनुभएको भन्दै नेपालको सहयोगमा बेलायतको साथ सधैँ रहिरहने प्रतिबद्धता दोहोर्याउनुभएको उनले जानकारी दिए ।
बकिङ्घम दरबारमा एक औपचारिक समारोहबीच राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि दूतावासमा आयोजित विशेष कार्यक्रममा राजदूत घिमिरेले राजाले नेपालको विकासलाई प्राथमिकता दिँदै आर्थिक प्रगतिका लागि आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभएको जानकारी दिए । भेटका क्रममा राजा चार्ल्सले आफू राजकुमार हुँदा नेपालमा भएका भ्रमणको स्मरण गर्दै नेपालप्रति आफ्नो अगाध माया दर्शाउनु भएको उनको भनाइ छ ।
राजदूत घिमिरेले सन् १८१६ मा स्थापित बेलायत नेपालबीचको दुई सय नौ वर्ष लामो अटल कूटनीतिक मित्रता स्मरण गर्दै नेपालको सामाजिक, आर्थिक विकासका लागि बेलायतको निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गरेका थिए ।
दुई देशबीचको भौतिक दूरी टाढा भए पनि बेलायत नेपालको विकासमा एक असल मित्र र साझेदार निकाय भएको भन्दै राजदूत घिमिरेले सन् २०१५ को भूकम्प र सन् २०१९ को कोभिड महामारीमा बेलायतले गरेको सहयोगको प्रशंसा गरे ।
कार्यक्रममा बेलायतका असिस्टेन्ट मार्सल अफ द डिप्लोम्याटिक कप्र्स एलनोर म्याक्यूले बेलायत सरकारका तर्फबाट राजदूत घिमिरेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालको प्रमुख विकास साझेदारका रूपमा बेलायती सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । बेलायती सेनामा गोर्खाहरूको योगदानको प्रशंसा गर्दै उहाँले नेपालको बेलायत सदैव नजिकको मित्र रहने बताए ।
उनले, राजदूत घिमिरेको परिवारको समेत व्यक्तिगत रूपमा दोस्रो विश्वयुद्धमा योगदान रहेको स्मरण गर्दै नेपालको आर्थिक तथा सामाजिक सहकार्यमा पलह गर्नेमा जोड दिनुभयो । सन् १९३४ मा लन्डनमा नेपालको पहिलो कूटनीतिक मिसन स्थापना भएयता घिमिरे बेलायतका लागि २३औँ नेपाली राजदूत हुनुहुन्छ । उहाँले गत जनवरीमा आफ्नो कार्यभार सम्हाल्नुभएको थियो ।
\दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीद्वारा सञ्चालित समारोहमा हाल बेलायत भ्रमणमा रहेका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको टोली, बेलायतस्थित विभिन्न मुलुकका राजदूत, हाई कमिसनर, बेलायत सरकारका उच्चपदस्थ अधिकारीहरू तथा नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरू उपस्थित थिए ।






