
काठमाडौँ ४ मे २०२५। गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको हायात होटेलमा शनिबार र आइतबार सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनले निर्वाचनमा सघाउने सवैलाई धन्यवाद पनि दिए । निर्वाचन समितिले महाधिवेशन स्थलमा आइतबार नै एक समारोह आयोजना गरी शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिने जनाएको छ ।
शेष घले नेतृत्वको उच्चस्तरीय आयोगले गरेको एनआरएनएको महाधिवेशन शनिबार नेपालकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले उद्घाटन गरेकी थिइन् । महाधिवेशनमा पूर्वप्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेता सांसद लगायतको उपस्थिति थियो । महाधिवेशनमा भाग लिन विभिन्न देशहरुबाट प्रतिनिधि जम्मा भएका थिए ।









