लन्डन ११ मे २०२५ । श्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा २१ जनाको मृत्यु हुनुका साथै १४ जना गम्भीर घाइते भएका छन् ।
दशकौँयताकै सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र कोटमाले हुँदै जाँदै गर्दा बिहान सबेरै भीरबाट खसेको प्रहरीले जनाएको छ ।
उक्त बसमा क्षमताभन्दा २० बढी अर्थात् करिब ७० जना यात्रु सवार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एक स्थानीय प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमार्फत् भने, “हामी यो यान्त्रिक खराबी हो वा बस गुडिरहेका समय चालक निदाएर दुर्घटना भएको हो भन्ने कारण पत्ता लगाउने प्रयासमा अनुसन्धान गरिरहेका छौँ ।”
उक्त बस श्रीलङ्काको दक्षिणमा रहेको तीर्थस्थल कातारागामाबाट करिब २५० किलोमिटर (१५५ माइल) को दूरीमा रहेको केन्द्रीय शहर कुरुनेगालातर्फ जाँदै थियो।
श्रीलङ्कामा वर्षेनी औसत तीन हजार सडक दुर्घटना हुने गरेका छन् । अत्यधिक दुर्घटना हुनेगरेका कारण श्रीलङ्काका सडकहरू संसारकै सबैभन्दा खतरनाक सडकमध्ये पर्ने गरेका छन् ।
श्रीलङ्काको पोल्गाहावेला शहरको रेलमार्ग पास गर्ने क्रममा सन् २००५ अप्रिलमा एक रेललाई ठक्कर दिँदा बसमा रहेका कम्तीमा ३७ जनाको मृत्यु भएको थियो । आइतबारको बस दुर्घटना श्रीलङ्कामा भएका सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक हो ।






