
लन्डन १५ मे २०२५ । नेपालमा जन्मिएका भूतपूर्व गोर्खा क्याप्टेन भीम सारु मगर बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा निर्वाचित भएका छन् ।
आज ननिटनको काउन्सिल हलमा सम्पन्न बार्षिक बैठकमा भएको निर्वाचनमा सत्तापक्ष लेबर पार्टीका काउन्सिलर क्याप्टेन सारु मेयर पदमा निर्वाचित भएका हुन् । लेबरका १९, कन्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जना काउन्सिलर रहेको बरोमा सारुले २० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी विल मार्कमले १५ मत प्राप्त गरे । अन्य चार जना काउन्सिलर निर्वाचन प्रक्रियामा अनुपस्थित थिए । मेयरमा निर्वाचित भएका मेयर सारुले आजै काउन्सिलको पूर्ण बैठकमा पद तथा गोपनियताको शपथ लिए । उनलाई निवर्तमान मेयर विल ह्यानकक्सले पद हस्तान्तरण गरेका थिए ।
सपथ ग्रहणपछि मेयर सारुले नेपालको ग्रामीण भेगमा जन्मेर बुवाको पाइला पछ्याउँदै बेलायती फौजमा भर्ती भएको सामान्य मानिसलाई बेलायतमा मेयरको रुपमा सेवा गर्ने अवसर दिएकामा काउन्सिल तथा बरोका सम्पूर्ण जनतालाई धन्यवाद दिए ।
सो अवसरमा उहाँले बरोमा रहेका सबै वर्ग र समुदायलाई समेटेर काउन्सिलको सेवा प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने बताए । सपथग्रहण पछि कार्यभार सम्हालेलगत्तै कुरा गर्दै मेयर सारुले नेपालमा जन्मिए पनि बेलायतमा मेयर सम्म बन्न पाएकामा खुसी व्यक्त गरे ।
बेलायतमा गोर्खा भर्तीको दुई सय बर्ष भन्दा लामो इतिहासमा पूर्व गोर्खाको तर्फबाट नेपालमा जन्मिएका व्यक्ति पहिलो पटक मेयरको रुपमा निर्वाचित हुन पाउँदा खुसी लागेको उनले बताए ।
पाल्पाको चिदिपानी चन्द्रवन, हालको माथागढी गाउँपालिका–१ मा जन्मिनुभएका सारुले सौभाग्य माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पुरा गरेका हुन् । त्यसपछि पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट स्नातक पढ्दै गर्दा सन् १९९३ मा बेलायती सेनामा भर्ती भएका थिए ।
झण्डै तीन दशक ब्रिटिश सेनामा सेवा गर्नुभएका सारु हाल ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्षसमेत छन् । सारु, रोयल इन्जिनियर्सको ग्यारिजन इन्जिनियरको रुपमा सेवा निवृत्त भएका हुन् । बेलायतमा सन् २०१७ देखि सारु ‘इम्ब्रोइडरी’ व्यवसाय चलाइरहनुभएका सारु बेलायतमा सफल व्यवसायी मात्रै नभएर समाजसेवीसमेत छन् । उनी विगत चारबर्षदेखि बेलायती राजनीतिमा सक्रिय छन् ।






