- जयराम तामाङ
सुइन्डन १९ मे २०२५ । नेपाली ख्रिष्टियन चर्च यूकेको संयुक्त आराधना संगती भव्यताका साथ सम्पन्न भएको छ ।
यही शनिबार मे १७ तारिखमा अक्सफोर्डस्थित ओस्नि मेडको हलमा नेपाली ख्रिष्टियन चर्च यूके अर्थात् एनसीसी यूकेको संयुक्त आराधना संगती भव्यताका साथ सम्पन्न भएको हो । बेलायतका विभिन्न सहरमा रहेका २७ वटा नेपाली चर्चहरुको छाता संगठन एनसीसी यूकेको आयोजनामा भएको आराधना संगतीमा एक हजारभन्दा बढी नेपाली ख्रिष्टियनहरुको उपस्थिति थियो ।
एनसीसी यूकेले आराधना संगतीबाहेक समय समयमा फूटबल प्रतियोगिता, विभिन्न च्यारिटी मेलाहरु, युथ क्याम्प, विभिन्न तालिम पनि गर्ने गरेको छ । बेलायतमा एनसीसी यूकेभित्र आबद्ध नभएका अरु धेरै चर्चहरुको पनि त्यो दिनको उपस्थिति रहेको आयोजकले जनाएको छ । अनिल जंग थापाको संचालनमा भएको कार्यक्रममा दिपेन्द्र लिम्बुले स्तूति प्रशंसाको अगुवाई गरेका थिए ।
नेपालमा धेरै लामो समयसम्म बसेर मिसनरीको रुपमा काम गरेका विभिन्न स्थानीय नागरिकलाई उक्त कार्यक्रममा प्रशंसापत्र र खादा लगाई एनसीसी यूकेका अध्यक्ष जेम्स लिङ्देन र उपाध्यक्ष टंक ईइले सम्मान गरेका थिए । अमेरिकाबाट आएका डाक्टर मनोज श्रेष्ठले परमेश्वरको वचन सेयर गरेका थिए ।







