लन्डन २२ मे २०२५ । बेलायती डायस्पोराकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कप फुटबल प्रतियोगितामा सहभागी हुन् चर्चित खेलाडी सावित्रा भण्डारी (साम्बा) बेलायत आइपुगेकी छन् । उनी बिहीबार बेलुकी लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिएकी हुन् ।
एयरपोर्टमा उनलाई गोर्खा कप आयोजक तमू धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, सचिव विमल गुरुङ, खेल सचिव दीपक घले, पूर्वखेल सचिव देव घले, तमूधीं यूके आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, तमुधीं यूके सल्लाहकार तथा एनआरएनए आईसीसी सदस्य दिलरास गुरुङ, सहारा यूके अध्यक्ष कृष्ण गुरुङ, निवर्तमान अध्यक्ष ले.रि कुसाङ गुरुङ, सदस्य अजयजङ थापा, साम्बाका नातेदार नारायण भण्डारीलगायतले स्वागत गरेका थिए ।
लमजुङ, सिम्पानी-७ पाम्चोकमा जन्मिएकी सावित्राले प्राप्त गरेको सफलता नेपाली फुटबलकै लागि दुर्लभ उपलब्धि र लोभलाग्दो छ । सन् २०१४ बाट नेपालको राष्ट्रिय जर्सी पहिरिन थालेकी उनी अन्तर्राष्ट्रिय फुटबलमा अत्यधिक गोल गर्ने पहिलो महिला खेलाडी हुन् । उनलाई ‘गोल मसिन’ उपनामले पनि चिनिन्छ ।
फ्रान्सको शीर्ष डिभिजनको क्लब ‘अन आभान्ट ग्वेङ’गाम्प’मा अनुबन्ध साम्बा युरोपमा व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । गोर्खा कपको २३औँ संस्करण २५ मे आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा हुनेछ । गोर्खा कपको तयारी अन्तिम चरणमा पुगेको तमुधिं यूकेले जनाएको छ ।
खेल बिहान ९.३० बजेबाटै खेल सुरु भई साँझ ८ बजे समापन हुनेछ । यसपटक मेन क्याटेगोरिजतर्फ ३२, भेट्रानमा १६ र दुई महिला टिमले प्रतिष्पर्धा गर्ने छन् । मेन क्याटेगोरिज वीनरलाई ३ हजार पाउण्ड, रनर अप १८०० पाउण्ड, भेट्रान वीनर १५०० र रनर अपलाई एकहजार पाउण्ड एवं लेडिजतर्फ वीनरलाई ६ सय र रनर अप हुनेलाई ४ सय पाउण्ड नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र दिइने छ । गोर्खा कप प्रवेश शुल्क ५ पाउण्ड र कार पार्क शुल्क पनि ५ पाउण्ड राखिएको छ । १२ वर्ष मुनीका लागि भने प्रवेश नि:शुल्क छ ।






