
लन्डन २७ । बेलायतको अल्डरसटमा सोमबारदेखि पाँच दिने मनोक्रान्ति कुन्डलिनी योग सुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ यूकेका अध्यक्ष मेजर योगेश कोयु राई, बेलायत भ्रमणमा रहेका मनोक्रान्तिका प्रणेता डा.योगी विकाशानन्द र रेकी ग्रान्ड मास्टर कमलेश्वरीले दीप प्रज्वलन गरेर योग प्रशिक्षण कार्यक्रम सुरु गरेका हुन् ।
कार्यक्रममा मनोक्रान्ती टिम यूकेका अध्यक्ष तथा पत्रकार नगेन्द्रराज नेम्बाङ, ग्रेटर रसमूर नेपाली कम्युनिटी यूकेकी अध्यक्ष लीला सेलिङ माबो, मनोक्रान्ति टीम यूकेका सल्लाहकार खड्गजंग आङ्बोहाङले मन्तव्य राखेका थिए । मनोक्रान्ति अल्डरसट शाखाकी अध्यक्ष अनिता गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
‘मिर्मिरे बिहानीमा ज्ञानको किरण’ (कुण्डलिनी योग, चक्र ध्यान र रेकी साधना) प्रशिक्षण मे ३० तारिखसम्म सञ्चालन हुनेछ । अल्डरसटस्थित एम्पायर हलमा ३० मेसम्म चल्ने प्रशिक्षणमा डा.योगी विकाशानन्द, रेकी ग्रान्ड मास्टर कमलेश्वरीले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षण बिहान ८ बजेबाट बेलुकी ५ बजेसम्म सञ्चालन भइरहेको छ । प्रशिक्षणमा बेलायतवासी मनोक्रान्तीप्रेमीको ७५ जनाभन्दा बढी सहभागी रहेको आयोजकले जनाएको छ ।
उनीहरु दुवैजना छोरा क्वान्टम संबुद्धसहित २३ मेको राति लन्डन आएका हुन् । डा.योगी विकाशानन्द आइतबार मे २५ तारिखमा तमुधीं यूकेले अल्डरसटमा आयोजना गरेको गोर्खाकप २०२५ मा सहभागी भएका थिए ।









