लन्डनमा तमु समाज यूकेको १८औं वार्षिक साधारणसभा सम्पन्न

SHARE:

नारायणसिंह गुरुङ
लन्डन २ जून २०२५ । तमु समाज यूकेको १८औं वार्षिक साधारणसभा ३१ मे शनिबार वेम्लीस्थित वारहाम पार्कमा रहेको आफ्नै सामुदायिक भवनमा सम्पन्न भएको छ ।

समाजकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र आमा समूहकी अध्यक्ष विमला गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी सभाको विधिवत उद्घाटन गरेका थिए । सभा प्रारम्भ हुनु अघि समाजका महासचिव शुव घलेले हेल्थ एण्ड सेफ्टी बारेमा प्रकाश पारे भने समाजका वरिष्ठ उपाध्यक्ष भीम बहादुर गुरुङले स्वागत मन्तव्य दिएका थिए ।

त्यसपछि समाजका पूर्व अध्यक्षहरू क्रमशः शिवचन्द्र गुरुङ, अर्जुन गुरुङ, निवर्तमान अध्यक्ष शिव कुमार गुरुङ र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले समाजको स्थापना, उद्देश्य र समाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गरिरहेको परोपकारी कार्य तथा धर्म–संस्कार संस्कृति जगेर्नामा योगदानबारे चर्चा गर्दै शुभकामना व्यक्त गरे ।

त्यसपछि महासचिव शुव घलेले समाजको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । आमा समूहको वार्षिक प्रगति विवरण समाजकी आमा समूह अध्यक्ष विमला गुरुङले प्रस्तुत गरे । तर युथ ग्रुपका अध्यक्ष प्रज्वल गुरुङ अनुपस्थित भएकाले यसपटक युथ ग्रुपको प्रतिवेदन प्रस्तुत हुन सकेन ।

साधारणसभामा पूर्वनिर्धारित कार्यक्रम तालिका अनुसार समाजले आगामी वर्ष आयोजना गर्ने चाडपर्व र अन्य कार्यक्रमहरूको विषयमा विस्तृत छलफल गरी मिति निर्धारण गरिएको छ ।

लन्च ब्रेकपछि दोश्रो चरणको कार्यक्रममा समाजका कोषाध्यक्ष चन्द्रकान्त गुरुङले यो वर्षको आम्दानी र खर्च विवरण प्रस्तुत गरे । हाउजिङ प्रोजेक्टसम्बन्धी आर्थिक विवरणबारे निवर्तमान अध्यक्ष शिव कुमार गुरुङले थप प्रष्टयाएका थिए । त्यसपछि सभा विभिन्न एजेण्डामा केन्द्रित भएको थियो । ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ र उत्कृष्ट समाज सेवा सम्मान वितरण, युवाहरूलाई समाजको मूलधारमा ल्याउने प्रेरणा, वार्षिक गृष्मकालीन भ्रमण कार्यक्रम, समाजको भवन र सामुदायिक भवनको भाडा परिमार्जन तथा व्यवस्थापन, तमु समाज यूकेले राष्ट्रिय लोटरी कोषबाट प्राप्त गरेको अनुदान रकमको व्यवस्थापन र उपयोग, साथै बुद्ध जयन्ती तथा बैशाख पूर्णिमाको अवसरमा घाँटु नाच आयोजना गर्ने सम्बन्धमा विशेष छलफल भयो। साथै, समाजको विधान परिमार्जन र अन्य विविध विषयमा पनि गहन छलफल गरी आवश्यक निर्णय गरिएको समाजले जनाएको छ ।

सभाको अन्त्यमा सभाध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले उपस्थित सबै सदस्यलाई कार्यक्रम सफल बनाउन दिएको अमूल्य समय, सक्रिय सहभागिता र आमा समूहद्वारा व्यवस्थापन गरिएको स्वादिष्ट भोजनका लागि धन्यवाद ज्ञापन गर्दै करिब साँझ ७ बजे सभाको विधिवत समापन भएको घोषणा गरेकी थिइन् ।

सभापछि तमु धिं यूकेको निमन्त्रणामा गोर्खा कपको अवसरमा नेपालस्थित पोखराबाट यूके आएका युवा व्यवसायी अरुण कुमार गुरुङलाई कोभिड–१९ महामारीको समयमा तमु समाज यूकेले नेपालमा राहत वितरण गर्ने कार्यक्रममा उनको अतुलनीय योगदानको कदर गर्दै समाजकी अध्यक्ष, संस्थापक अध्यक्ष र आमा समूहकी अध्यक्षद्वारा खादा, फेटा र फूल अर्पण गरी समाजको लोगो अंकित प्लाक ‘मायाको चिनो’ सहित स्वागत सम्मान गरियो ।

उक्त समयमा राहत वितरण कार्यक्रमको नेतृत्व तमु समाज यूकेको आमा समूहकी पूर्व अध्यक्ष माया गुरुङ र आजीवन सदस्य तथा सोंपाल समाज यूकेका पूर्व उपाध्यक्ष पार्वती गुरुङले गरेका थिए । सम्मान ग्रहण गर्दै युवा व्यवसायी अरुण कुमार गुरुङले सम्मान र मायाको चिनोप्रति धन्यवादसहित आभार व्यक्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!