
लन्डन १७ जुन २०२५ । तीनदेशीय ट्वान्टी–२० शृंखलामा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको छ ।
मंगलबार ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डविरुद्ध नेपालले जित निकालेको हो । नेपालले ९८ रनको झिनो लक्ष्य १ बलअगाडि पूरा गरेको हो । लामो समय क्रिजमा टिकेका ओपनर कुशल भूर्तेलले ३५ बल खेली ४ चौकासहित ४० रन बनाए । दीपेन्द्रसिंह ऐरी २१ बल खेली कुनै बाउन्ड्री प्रहार गर्न नसकी १४ रनमा आउट भए । लोकेश बम ९ रन बनाएर आउट भए ।
नयाँ आएका ब्याटर सन्दीप लामिछानेले १ रन जोड्दै नेपाललाई जिताए । करण ३ रनमा अविजित रहे । यसअघि टस होपछि ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड १९.४ ओभरमा ९७ रनमा अलआउट भएको थियो । नेपालले सुरुआतदेखि नै उत्कृष्ट बलिङ गर्दै स्कटल्यान्डको ब्याटिङलाई पूर्ण नियन्त्रणमा लिएको थियो ।
सन्दीप लामिछानेले ४ विकेट लिएका थिए । दीपेन्द्रले २ विकेट लिए । नेपाल अघिल्लो दिन तीन सुपर ओभरको खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो । आइतबार सुरु प्रतियोगिताको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो । नेपालले बुधबार नेदरल्यान्ड्स र शुक्रबार स्कटल्यान्डसँग प्रतियोगिताका बाँकी दुई खेल खेल्नेछ ।






