
लन्डन १९ जून २०२५ । बेलायत भ्रमण पूरा गरेर पूर्वमुख्यमन्त्री एवं नेकपा एमाले महासचिव शंकर पोखरेल बिहीबार स्वदेश फर्किएका छन् । महासचिव पोखरेल बिहीबार १९ जून २०२५ मा लन्डनस्थित हिथ्रो विमानस्थल हुँदै स्वदेश प्रस्थान गरेका बेलायतका नेता भक्त गुरुङले जानकारी दिए । तर पोखरेल शुक्रबार दोहामा सम्बोधन गरेर २२ जूनमा मात्र नेपाल पुग्ने नेता गुरुङले प्रस्ट पारेका छन् ।
विमानस्थलमा बिदाइका लागि प्रवासी नेपाली मञ्च यूकेका नवनिर्वाचित अध्यक्ष पशुपति पोखरेलसहित पदाधिकारी, सदस्य, भक्त गुरुङ पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, आफन्तलगायत पुगेका थिए ।
पोखरेल बेलायत रहँदा लन्डन हाईगेटस्थित कार्ल मार्क्सको समाधिमा पुष्पगुच्छा अर्पण,वेष्टमिन्स्टर संसद् भवन, वेष्टमिन्स्टर हल, हाउस अफ कमन्स, हाउस अफ लर्ड्स, लण्डन थेम्स रिभर,स्याण्डर्स, क्याम्बर्ली,फार्नबोरो, फ्लीट पुगे । त्यस्तै मिचेटस्थित तमु धीं यूकेको भवन भ्रमण तथा अवलोकन, गोर्खा प्यालेस, चाइनिज ओरेन्टियल,पिपल मर्गेजलगायत नेपालीको व्यवसाय अवलोकन, अल्डरसट टाउन, प्रिन्सेस गार्डेनमा ज्येष्ठ नागरिकहरूसँग भेटघाट, पहिलो भीसी कुलबहादुर थापाको सालिक अवलोकन, नेपाली दूतावास लन्डनको रिसेप्सनमा सहभागी भएका थिए ।
महासचिव पोखरेलसँग एमाले पोलिटब्युरो सदस्यसमेत रहेकी पत्नी सुजिता शाक्य, एमाले केन्द्रीय सदस्य एवं तुलसीपुर उपमहानगरपालिकाका पूर्वमेयर घनश्याम पाण्डेलगायत छन् । उनीहरु प्रवासी नेपाली मञ्च यूकेको नवौं अधिवेशनका लागि बेलायत आएका हुन् ।






