
ईडिनबर्ग २७ जून २०२५ । नेपाली भिलेज यूकेको शेयर क्याम्पेन स्कटल्यान्डको ईडिनबर्गमा आयोजित पहिलो नेपाली मेला २०२५ मार्फत औपचारिक रूपमा सुरु गरिएको छ।
लन्डनस्थित नेपाली दूतावास र एनआरएनए स्कटल्यान्डले संयुक्त रूपमा आयोजना गरेको मेलामा २ हजारभन्दा बढी भन्दा बढी नेपालीको सहभागिता थियो । नेपाली राजदूत चन्द्र कुमार घिमिरे, उपनियोग प्रमुख विपिन दुवाडीलगायत दूतावासका अधिकारीको उपस्थिति रहेको कार्यक्रममा पासपोर्ट नवीकरण र अन्य कन्सुलर सेवा पनि प्रदान गरिएको थियो ।
मेलाको सुरुआत नेपाली नौमती बाजा र स्कटिस पाइपरको संगीतसहित धार्मिक तथा सांस्कृतिक झाँकीका साथ गरिएको थियो ।नेपाली भिलेज यूकेका प्रमुख निर्देशक मेजर खुशीमान गुरुङ एमभीओको नेतृत्वमा आयोजित सार्वजनिक सेयर क्याम्पेन स्कटल्यान्डमा पहिलो पटक गरिएको हो । शेयर मूल्य ५ हजार ५०० पाउन्ड तोकिएको छ, जुन चाहिँ जुलाई १ देखि सर्वसाधारणका लागि खुला हुनेछ ।
मेलामा सहभागीले परियोजनासम्बन्धी जानकारी लिएका थिए । नेपाल र नेपाली संस्कृतिसँग मेल खाने आवासीय तथा सांस्कृतिक केन्द्र निर्माण गर्ने लक्ष्यसहितको परियोजनाप्रति धेरैले चासो देखाएका थिए ।
भविष्यमा स्कटल्यान्डका विभिन्न शहरमा सम्भावित सेयर होल्डरहरूलाई लक्षित गर्दै जानकारीमूलक कार्यक्रम आयोजना गरिने बताइएको छ ।






