
लन्डन १ जुलाई २०२५ । लमजुङ समाज यूकेले सधैंझैं यस वर्ष पनि आफ्नो वार्षिक ग्रीष्मकालीन भेटघाट कार्यक्रम आउँदो शनिबार, १९ जुलाई २०२५ का दिन गर्ने भएको छ ।
भेटघाट कार्यक्रम क्याम्बर्लीस्थित कोलिङवुडमा हुने समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक परशु गुरुङले जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रममा विविध खेलकुद प्रतियोगिता, मनोरञ्जनात्मक प्रस्तुति र पारिवारिक मेलमिलापको वातावरण तयार गरिनेछ । उनले कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको पनि जनाए ।
बाहिरको खेलकुद कार्यक्रम: दिउँसो १२:००–१६:०० बजेसम्म र भित्र मुख्य सांस्कृतिक कार्यक्रम साँझ १६:००–२२:१५ बजेसम्म हुनेछ ।
कार्यक्रममा पुरुष फुटबल, महिला भलिबल, अग्रज महिलाहरूका लागि रमाइलो खेल, बालबालिकाका लागि बाउन्सी क्यासल तथा अन्य मनोरञ्जनका साधनहरू व्यवस्था गरिने छ । यसका साथै स्थानीय कलाकारहरूको आकर्षक नृत्य प्रस्तुतिसँगै नेपालबाट आमन्त्रित चर्चित कलाकारहरूले पनि प्रस्तुति दिनेछन् ।
कार्यक्रममा आकर्षक पुरस्कारसहितको भाग्यशाली चिट्ठा, परिकार सहितको खाना तथा बिबिक्यूको विशेष व्यवस्था पनि गरिने आयोजकहरूले जनाएका छन् ।
लमजुङको सांस्कृतिक पहिचान झल्काउने “ठाडो भाका” र परम्परागत “बाह्रमासे घाँटु” नाच कार्यक्रमको विशेष आकर्षण हुने बताइएको छ ।
कार्यक्रममा लमजुङवासी सम्पूर्ण परिवार, अग्रज बाबाआमादेखि चेली–ज्वाइँ, भान्जा–भान्जी सबैलाई सहभागी हुन आयोजकले निमन्त्रणा गरेको छ । वरिष्ठ उपाध्यक्ष परशु गुरुङले “भेटघाट गरौं, रमाइलो गरौं, संगै नाचौं, हाँसौं र मनोरञ्जन गरौं” भन्ने भावनाका साथ कार्यक्रम सफल बनाउन अनुरोध गरेका छन् ।






