
लन्डन, २ जुलाई २०२५ । गोर्खा भूतपूर्व सैनिकहरूले समान पेन्सनको मागलाई लिएर बेलायती संसद् भवनअगाडि शान्तिपूर्ण प्रदर्शन गरेका छन्। गोर्खा संगठनहरूको साझा मञ्च जी-१० समूहको आयोजनामा भएको यो प्रदर्शनमा दर्जनौं गोर्खा भूपू सैनिक तथा अधिकारकर्मी सहभागी थिए।
प्रदर्शनका नेतृत्वहरूका अनुसार, गत १२ जूनमा बेलायतस्थित लन्डन दूतावासमा भएको त्रिपक्षीय वार्तामा समान पेन्सनको विषयमा सकारात्मक संकेत पाइएको थियो । उक्त विषयमा भूपू गोर्खाहरुलाई जानकारी गराउने र एकता प्रदर्शन गर्नका लागि कार्यक्रम आयोजना गरिएको गेसो सभापति कृष्णकुमार राईले जानकारी दिए । उहाँले अब टुटफुट नगरी सशक्त कार्यक्रमहरू गर्दै जानुपर्नेमा जोड दिए ।
कार्यक्रमको क्रममा सहभागीहरूले ट्राफलगर स्क्वायरमा भेला भई गोर्खा सालिकमा रिथ अर्पण गरेपछि, मार्च गर्दै पार्लियामेन्ट स्क्वायर पुगेका थिए। कार्यक्रमका दौरान सांसदहरू, पत्रकारहरू र कूटनीतिक निकायहरूलाई गोर्खा मुद्दामा हालसम्मको प्रगतिको जानकारी गराइएको थियो।






