
लन्डन ११ जुलाई २०२५ । बेलायतस्थित सफल व्यवसायी तथा समाजसेवी डा.रक्षा थापाले गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी निर्वाचनमा उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन् ।
साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा बिहीबार आयोजित एक भव्य समारोहमा, थापाले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । उनले राजनीतिक प्यानलभन्दा माथि उठेर नीतिगत नेतृत्व दिन खोजेको स्पष्ट सन्देश दिइन् ।
‘पदको लागि होइन, परिवर्तनको लागि उम्मेदवारी’
कार्यक्रममा डा.थापाले भनिन्, ‘संस्था बिग्रिएको छ भनेर छाड्ने होइन, म यसको उपचार गर्न अघि सरेकी हुँ । यो उम्मेदवारी पदको लागि होइन, दृष्टिकोण र भावी दिशा परिवर्तनको लागि हो।’
लन्डनस्थित ‘माया सपोर्टेड लिभिङ’ कम्पनीकी निर्देशक थापा लामो समयदेखि बेलायतमा सामाजिक कार्यमा संलग्न छिन् । उनले आफ्नो अनुभव र दृष्टिकोण प्रयोग गरेर एनआरएनए यूकेलाई समावेशी, जवाफदेही र भविष्य दृष्टिकोणयुक्त संस्था बनाउने अठोट व्यक्त गरिन् ।
११ बुँदे प्रतिबद्धता
घोषणासभामा उनले संस्थागत संरचना सुदृढीकरण, युवा सशक्तिकरण, महिला नेतृत्व प्रवर्द्धन, गोर्खा आन्दोलनको समर्थन, नेपाली नागरिकताको निरन्तरता, भाषा-संस्कृति संरक्षण र नेपाल–बेलायत सम्बन्ध मजबुत पार्नेसहित ११ बुँदे अभियान सार्वजनिक गरिन् । उनको योजना अनुसार, एनआरएन अभियानलाई ज्ञान, अनुसन्धान र प्रविधिमा आधारित निर्णयमार्फत अगाडि बढाइनेछ। उनले प्राध्यापक, अनुसन्धानकर्ता र बुद्धिजीवीहरूलाई समेत एनआरएनए अभियानमा जोड्ने योजना प्रस्तुत गरिन्।
घोषणासभामा यती नेपाली एसोसिएसन यूकेका पूर्वअध्यक्ष उमेशराज मोक्तान, अध्यक्ष टंक भट्टराई, आरजीएनएसका पूर्वअध्यक्ष पूण्य रेग्मी, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूके अध्यक्ष गजेन कटुवाल, नेपलिज नर्सिङ एसोसिएसन यूकेका पूर्वअध्यक्ष बिनोदविकास सिम्खडा, लगायत थुप्रै संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । सबै वक्ताहरूले डा. थापाको नेतृत्व क्षमता, सामाजिक प्रतिबद्धता र कार्यदिशाप्रति विश्वास व्यक्त गर्दै नेतृत्वमा महिलालाई अवसर दिनुपर्ने आवश्यक्तामा जोड दिए ।
एनआरएनए यूकेको निर्वाचन यही जुलाई २६ तारिख, अनलाइनमार्फत हुने तय भएको छ ।






