वेलेस्ली १३ जुलाई २०२५ । नेपाली समुदाय र वेलेस्ली क्षेत्रको समग्र समुदायको लागि ऐतिहासिक र गौरवपूर्ण दिनको रूपमा, एकीकृत वेलेस्ली सामुदायिक बगैंचाको हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। एक समारोहबीच ग्रेन्जर पीएसीबाट जीआरएनसीका उपाध्यक्ष डा. विशाल गुरुङले शुक्रबार ११ जुलाईमा जग्गाको चाबी लिएका हुन् ।
ग्रेटर रशमोर नेपाली कम्युनिटी (जीआरएन्सी)को तर्फबाट आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरू, सहयोगी, र स्थानिय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
यो सामुदायिक बगैँचाको लागि ग्रेन्जर टिमले पाँच वर्षका लागि जग्गा लिजमा दिएको हो । कार्यक्रममा जीआरएनसी उपाध्यक्ष डा. बिशाल गुरुङले सामुदायिक बगैंचालाई आफ्नै संरक्षणमा ल्याउन योगदान दिने सबैलाई धन्यवाद दिँदै भने, “यो हाम्रो साझा मेहनत, एकता र सपना साकार हुने थलो हो । बगैंचाले हामीलाई एकआपसमा जोड्ने, सहकार्य गर्ने र आफ्ना संस्कृति–समाजप्रति प्रतिबद्ध हुने अवसर दिन्छ ।”
उनले विशेष धन्यवाद पीसीएसओ दुर्गा थापा, जीआरएनसीका पूर्व अध्यक्षद्वय रामधन राई र मनबहादुर गुरुङ, ट्रस्टी गेरी घले तथा हालकी अध्यक्ष लिला सेलिङ माबोलाई प्रदान गरे । साथै, कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबै सहयोगी संस्था र व्यक्तिहरूप्रति आभार प्रकट गरे ।
बगैंचाका लागि जग्गा उपलब्ध गराउने ग्रेन्जर पीएल्सीप्रति कृतज्ञता व्यक्त गर्दै, डा. गुरुङले समन्वयक लुसीको कठिन परिश्रम र निरन्तर अपडेटप्रति धन्यवाद व्यक्त गरे। उनले महामारीको कठिन समय, माटोसम्बन्धी समस्या जस्ता चुनौतीका बाबजुद पनि आज ढिलै भए पनि यो उपलब्धि सम्भव भएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा सहयोग पुर्याउने संस्थाहरूमध्ये ग्रेन्जर पीएल्सीद्वारा परिधि बार को व्यवस्था गरिएको थियो भने रस्मुर बोरो काउन्सिलबाट प्राप्त ५ हजार पाउन्ड, फानबोरो एयरपोर्ट फन्डबाट प्राप्त सहयोगबाट बगैंचाका सामग्रीहरू खरिदमा मद्दत पुगेको उपाध्यक्ष गुरुङले बताए ।
क्यान इन्टरनेसनलका डा.बलराम ढकाल र गोविन्द बेल्बासेले आर्थिक स्रोत जुटाउन महत्त्वपूर्ण साथ पुर्याएका थिए। त्यसैगरी, काउन्टी काउन्सिलका पूर्वकाउन्सिलर र हालका एल्डरम्यान चार्ल्स चौधरी तथा पूर्व वार्ड काउन्सिलर प्रवेश केसीबाट १ हजार/१ हजार सहयोग प्राप्त भएको पनि उनले जानकारी दिए ।
विशेष रूपमा अवकाशप्राप्त क्याप्टेन विष्णु श्रेष्ठले व्यवस्थापन समन्वयको ठूलो जिम्मेवारी लिन सहमति जनाएकोमा धन्यवाद दिइयो। कोषाध्यक्ष मिलन रोका र सम्पूर्ण वेलेस्ली रेसिडेन्ट कमिटीको पनि आभार व्यक्त गरियो।
सामुदायिक बगैँचामा लसुन, अदुवा, धनियाँ, खुर्सानी, सागसब्जीलगायत तरकारी उत्पादन गरिनेछ । यहाँ श्रम गर्ने स्वयंसेवकहरूले उत्पादनको केही हिस्सा लैजान सक्ने र बाँकी ग्राबहबमार्फत आवश्यक व्यक्तिहरूमा वितरण गरिने योजना रहेको छ ।
डा. गुरुङले बगैंचाको औपचारिक उद्घाटन बाँकी रहेको भए पनि सबै स्वयंसेवकहरूलाई यो सामूहिक यात्राको हिस्सा बन्न आह्वान गरे । “स्वागत छ — एकीकृत वेलेस्ली सामुदायिक बगैंचामा — जहाँ हामी सँगै बढ्नेछौं ।” उनको यो भनाइले कार्यक्रममा उपस्थित सबैलाई एकता र सामूहिक प्रयासप्रतिको गर्वले भरिएको महसुस गराएको थियो ।






