
लन्डन १७ जुलाई २०२५ । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले यही जुलाई २६–२७ मा हुने भनिएको आसन्न निर्वाचन र अधिवेशनलाई अवैध र समाज विखण्डन गर्ने प्रयास भन्दै त्यसमा विश्वास नगर्न अपील गरेको छ।
अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा बुधबार आयोजित पत्रकार सम्मेलनमा, संघका अध्यक्ष प्रेम गाहामगरले सर्वोच्च अदालतको परमादेश अनुसार डा. शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिले काठमाडौंमा आयोजित एकता महाधिवेशनमार्फत महेश श्रेष्ठलाई आइसीसी अध्यक्ष र आफूलाई बेलायतको वैधानिक अध्यक्ष घोषणा गरिसकेको जानकारी दिए । उनले नेपाल सरकारको परराष्ट्र मन्त्रालयले जेठ ८ गते पत्राचारमार्फत आफू नेतृत्वलाई मान्यता दिइसकेको उल्लेख गर्दै लन्डनस्थित नेपाली दूतावासले कानुनी विवादका कारण आसन्न अधिवेशनलाई समर्थन नगर्ने स्पष्ट पारे।
उनले डा. बद्री केसी समूहका एमाले निकट व्यक्तिहरूले जातीय द्वन्द्व भड्काउने शैलीमा समाज विखण्डन गर्न खोजेको आरोप लगाए । गाहामगरका अनुसार वंशजको नेपाली नागरिकताको निरन्तरताका लागि संघर्ष जारी रहेको छ, तर भ्रष्टाचारकै कारण एनआरएनएमा विवाद उत्पन्न भएको र त्यसको अन्त्य बिना अभियान सफल नहुने बताए।
कार्यक्रमका प्रमुख अतिथि तथा आइसीसी उपाध्यक्ष विश्वासदीप तिगेलाले एकता महाधिवेशनपछि पनि अर्को पक्षलाई समेट्न प्रयास गरिए पनि असफल भएको भन्दै अब बाटो छुट्टिएको दाबी गरे। उनले अक्टोबरमा हुने भनिएको अन्तर्राष्ट्रिय महाधिवेशन पनि नहुने प्रष्ट पारे।
कार्यक्रममा सचिव कृष्णप्रसाद खतिवडा, प्रमुख सल्लाहकार डा. भीम पुन, पूर्वअध्यक्ष योगेन क्षेत्री, प्रवक्ता डा. कुलप्रसाद कंडेल, शारदा गुरुङ (आइसीसी सदस्य) र नरमति पुन (सल्लाहकार) लगायतले गाहामगर नेतृत्वप्रति भ्रममा नपर्न आग्रह गरे ।
कार्यक्रम महासचिव जुरेन्द्र खजुम लिम्बुको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा ओमप्रसाद थापा, श्रीप्रसाद गुरुङ, विजय गुरुङ, गोमा राना, हितमान गुरुङ, टंक गुरुङ, मनिष खालिङ, अजयसिंह ठकुरी, अनिल मल्ल, दिपक लिम्बु, रेखा लिम्बु, पत्रकार तथा पूर्व डिएसपी बाचस्पति रेग्मी लगायतको उपस्थिति थियो ।






