
लन्डन २३ जुलाई २०२५ । एनआरएनए यूकेको अध्यक्ष पदका उम्मेदवार राजेन्द्र पुडासैनीले संघलाई सदस्य–केन्द्रित, जवाफदेही, समावेशी र एकबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार लन्डनको वेम्लीमा आयोजित कार्यक्रममा पुडासैनीले आफ्नो १० बुँदे एजेन्डा सार्वजनिक गर्दै एनआरएनएलाई रिब्रान्डिङ, युवापुस्ता आकर्षण, ज्ञान र लगानी हस्तान्तरण, गोर्खा तथा ज्येष्ठ नागरिकको सम्मान, नेपाली कला–संस्कृति संरक्षण, वंशजका लागि नागरिकताको निरन्तरता लगायतका विषयमा अग्रसर बनाउने बताए ।
उनले वर्तमान नेतृत्व संकटका बीच संस्थामा सुधार र नयाँ ऊर्जा भर्ने अठोट दोहोर्याए । आप्रवासी नेपालीहरूका वास्तविक समस्या समाधानका लागि आफ्नो अनुभव प्रयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा महासचिव पदका उम्मेदवार दिवाकर पाण्डेले स्कटल्याण्डमा गरिएका उल्लेखनीय सामाजिक कामको उदाहरण दिँदै टिमप्रति विश्वास व्यक्त गरे । उनका अनुसार ४३ प्रतिशत मतदाता स्कटल्याण्डबाट भएकाले त्यहाँबाट बलियो समर्थनको अपेक्षा गरिएको छ।
कार्यक्रममा आइसीसी सदस्य, उपाध्यक्ष, सचिव, राज्य समन्वय परिषद् अध्यक्ष पदका उम्मेदवारहरूमध्ये धेरैले पनि संक्षिप्त मन्तव्य दिँदै पुडासैनी टिमलाई मतदान गर्न आह्वान गरे ।
एनआरएनएका पूर्व तथा वर्तमान पदाधिकारी, बुद्धिजीवी र अभियन्ताहरूले पुडासैनीको नेतृत्व क्षमताको प्रशंसा गर्दै समर्थन व्यक्त गरेका थिए।






