
लन्डन, अल्डरसट २६ जुलाई २०२५ । इलाम सोसाइटी यूकेले विविध कार्यक्रम आयोजना गरी वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार अध्यक्ष टेकबिर राई र प्रमुख अतिथि जर्मनीका लागि पूर्वराजदूत डा. नवल किशोर राईले पानसमा दीप प्रज्वलन गर्दै, नेपालको राष्ट्रिय गान बजाएर औपचारिक कार्यक्रम उद्घाटन गरेका थिए ।
त्यसैगरी, इलाम सोसाइटीबाट शैक्षिक क्षेत्रमा मास्टर्स र ग्र्याजुएसन पूरा गरेका विद्यार्थीहरूलाई प्रशंसा-पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
औपचारिक कार्यक्रममा प्रमुख अतिथि डा. राईले इलाम सोसाइटीको प्रगति, उन्नति र सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो। विशेष अतिथि गैरआवासीय नेपाली संघका अध्यक्ष प्रेम गाहा मगर, पाँचथर समाज सेवा यूकेका वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्बाङ लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
अध्यक्ष टेकबिर राईले इलाम सोसाइटीका सदस्यहरू, कार्यक्रममा उपस्थित अतिथि महानुभावहरू तथा कार्यक्रम सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रमको समापन गर्नुभएको थियो।
कार्यक्रममा धनकुटा समाज यूकेका अध्यक्ष मानबहादुर लिम्बू, तेह्रथुम समाज यूकेका प्रतिनिधि क्याप्टेन गिरिराज लिम्बू तथा खोटाङ समाज यूकेका कोषाध्यक्ष शिवध्वज राईको पनि उपस्थिति रहेको थियो।
मनोरञ्जनात्मक कार्यक्रम:
दोस्रो चरणको मनोरञ्जनात्मक कार्यक्रममा नेपालबाट आएका कलाकार, नेपाली तारा विजेता गायक दीपक लिम्बूले नेपाली गीतहरू गाएर माहोल तताएका थिए। त्यस्तै, स्थानीय कलाकारहरू—गायक तथा अध्यक्ष टेकबिर राई, गायक चोक गुरुङ र गायक खड्ग लुङ्गेलीले विभिन्न नेपाली गीतहरू गाएर उपस्थित महानुभावहरूलाई नचाएका थिए।
अध्यक्ष टेकबिर राईको अध्यक्षतामा सम्पन्न वार्षिक भेटघाट कार्यक्रममा सुरक्षा तथा सेफ्टी ब्रिफ महासचिव याम गुरुङले, र स्वागत मन्तव्य उपाध्यक्ष धन गुरुङले राखेका थिए।
औपचारिक कार्यक्रम महासचिव याम गुरुङले सञ्चालन गरेका थिए भने मनोरञ्जनात्मक कार्यक्रम कार्यवाहक सांस्कृतिक विभाग प्रमुख चोक गुरुङले सञ्चालन गरेका थिए।







