
- नगेन्द्रराज नेम्बाङ
लन्डन (अल्डरसट) । हाङ्पाङ समाज यूकेले विविध कार्यक्रम आयोजना गरी वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार २७ जुलाईमा भएको औपचारिक कार्यक्रम अध्यक्ष टेकमान खपाङ्गी मगर र सङ्स्थापक अध्यक्ष विश्वराज फेयोङ साँवाले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । संस्थाका ज्येष्ठ नागरिक दिलबहादुर राना मगर, संरक्षक, सदस्यहरू सल्लाहकारहरूलाई खादा ओढाइ सम्मान गरेका थिए भने हाङपाङ समाजबाट शैक्षिक क्षेत्रमा विभिन्न विषयबाट मास्टर्स, ग्र्याजुएसन गर्ने विद्यार्थीहरुलाई प्रशंसापत्र प्रदान गरी खादा ओढाइ सम्मान गरिएको थियो ।
अतिथि रुद्र खपाङ्गी मगर र मेजर रिटायर्ड पदम आङ्बुहाङले शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष मगरले कार्यक्रममा उपस्थित महानुभावहरूलाई उपस्थितिका लागि धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन गरेका थिए ।
किरात याक्थुङ चुम्लुङ यूकेका पूर्वअध्यक्ष काजीमान याक्सो उपाध्यक्ष दीपेन्द्र याक्सो सङ्घीय लोकतान्त्रिक सामाजिक मञ्च यूकेकी अध्यक्ष शर्मिला याक्सो हुक्पा चोङबाङको उपस्थिति रहेको थियो ।
दोस्रो चरणको मनोरञ्जनात्मक कार्यक्रममा नेपालबाट आएकी अतिथि कलाकार गायिका निरन्ता नेम्बाङले लिम्बु पालमसहित विभिन्न नेपाली गीतहरू गाएर उपस्थित महानुभावहरूलाई बेस्सरी नचाएकी थिइन् ।

थप मनोरञ्जनका लागि दीपक आङ्बुहाङको नेतृत्वमा हाङपाङ्गे च्याब्रुङ कलाकारहरूले आकर्षक च्याब्रुङ नृत्य प्रस्तुत गरेका थिए ।
टेकमान खपाङ्गी मगरको अध्यक्षतामा सम्पन्न वार्षिक भेटघाट कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मेदनी फोम्बोले राखेका थिए ।
औपचारिक कार्यक्रम महासचिव दीपेन्द्र फेयङ साँवाले सञ्चालन गरेका थिए भने मनोरञ्जनात्मक कार्यक्रम सांस्कृतिक विभाग प्रमुख चन्द्र आङ्बुहाङ (कैलाश)ले सञ्चालन गरेका थिए ।






