वर्ष पत्रकारिता सम्मान वरिष्ठ पत्रकार नेपालीलाई

लन्डन ३ अगस्ट २०२५ । नेपाल पत्रकार महासंघ बेलायत शाखाले १४ औँ स्थापना दिवस मनाएको छ । अल्डरसटस्थित एम्पायर हलमा आइतबार ३ अगस्ट २०२५ मा विभिन्न कार्यक्रमसहित पत्रकार महासंघ बेलायतले वार्षिकोत्सव मनाएको हो । कार्यक्रम बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा र बेलायत शाखाकी अध्यक्ष विमला सेनेले उद्घाटन गरिन् ।
बेलायतका लागि नेपाली राजदूत घिमिरेले बेलायतमा रहेका नेपाली पत्रकारहरूले अब बेलायतको मूलप्रवाहमा कसरी उपस्थिति बढाउने भन्ने बारेमा सोच्न पर्ने सुझाव दिए । उनले पत्रकारिता बलियो भए मात्र राज्य बलियो हुने भएकाले बेलायतमा नेपाली पत्रकारिता बलियो बनाउन आफ्नो तर्फबाट सहयोग गर्न तत्पर रहेको पनि बताए ।
अध्यक्ष शर्माले प्रवासमा स्वयंसेवीरूपमा पत्रकारिता गरिरहेका नेपाली पत्रकारहरूको सराहना गर्दै नेपालमा रहेका पत्रकारहरूलाई पनि बेलायतबाट पत्रकारिता सिक्नुपर्छ भन्नेगरी पत्रकारिता गर्न आग्रह गरिन् । उनले शाखाका माध्यमबाट नेपालका पत्रकारहरूले पत्रकारिताका विभिन्न आयामहरू सिक्ने अवसर पाएको, नेपालमा पत्रकारहरूलाई केही पर्दा सहयोग प्राप्त गरिरहेको र आगामी दिनमा पनि शाखा र केन्द्रको सम्बन्ध अझ राम्रो होस् भन्ने शुभकामना दिइन् ।
शाखाकी अध्यक्ष बिमला सेनेको अध्यक्षतामा भएको कार्यक्रममा वार्षिकोत्सवको केक काटिएको थियो । कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले स्वागत मन्तव्य राखेका थिए भने विभिन्न वैदेशिक शाखाहरूबाट प्राप्त शुभकामनाहरू अर्का उपाध्यक्ष प्रमिला लाबुङ राईले वाचन गरेकी थिइन् ।
महासचिव खेमराज रानाभाटले सञ्चालन गरेको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बेलायतका तर्फबाट केन्द्रीय अध्यक्ष शर्मालाई स्वागत पनि गरिएको थियो । कार्यक्रममा बेलायतस्थित नेपाली समुदायका अभियन्ता, पेशाकर्मी, व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको बन्द सत्रमा महासचिव रानाभाट तथा कोषाध्यक्ष एसके गुरुङद्वारा प्रस्तुत सांगठानिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो । बन्दसत्रमा नेपाल प्रेस युनियन युरोपका अध्यक्ष सन्जयभक्त कँडेल,पूर्ववरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल र केन्द्रीय प्रतिनिधि डा शिव तिवारीले शुभकामना दिएका थिए भने पूर्वअध्यक्ष नरेश खपाङ्गीमगरले शाखामा देखिएको विवाद समाधानका लागि गठित सहजीकरण समितिको गतिविधिबारे जानकारी गराएका थिए । सो सत्रमा केन्द्रीय अध्यक्ष शर्माले आफ्नो मन्तव्यका साथै सहभागीहरूको जिज्ञासाको जवाफ दिएकी थिइन् ।
शाखाले यसै वर्षदेखि प्रदान गर्न सुरु गरेको वर्ष पत्रकारिता सम्मान वरिष्ठ पत्रकार खगेन्द्र नेपालीलाई प्रदान गरियो । नेपाली विदेशमा रहेकाले उनका तर्फबाट नातेदार ज्ञानेन्द्र राउतले सो सम्मान कार्यक्रमका प्रमुख अतिथिद्वय राजदूत घिमिरे र नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माबाट ग्रहण गरेका थिए । सम्मानमा सम्मानपत्र दोसल्ला र नगद २५१ पाउन्ड रहेको छ ।
सम्मानस्वरूप प्राप्त राशि सोही समारोहमा राउतले बेलायतमा बयोवृद्ध पूर्वगोर्खा सैनिकहरूलाई विभिन्न सहयोग पुर्याइरहेको द गोर्खा सेन्टरलाई हस्तान्तरण गरे । सेन्टरका प्रमुख कार्यकारी अधिकृत भीम तामाङले सो राशि ग्रहण गर्दै वरिष्ठ पत्रकार नेपालीप्रति आभार व्यक्त गरे ।
सो अवसरमा सम्मानित व्यक्तित्व छनोट समितिका संयोजक वरिष्ठ पत्रकार सुमन खरेलले नेपालीलाई छान्नुको आधार र उनका बारेमा बोलेका थिए भने वरिष्ठ पत्रकार नेपालीको अडियो सन्देश सुनाइएको थियो ।






