पुडासैनी नेतृत्वको एनआरएनए यूकेद्वारा कुलमान घिसिङसँग ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न

SHARE:

लन्डन १६ अगस्ट २०२५ । राजेन्द्र पुडासैनी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए यूके)ले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँग शुक्रबार प्लमस्टेडमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम गरेको छ । उज्यालो नेपाल अभियानअन्तर्गत सोमबार बेलायत उत्रिएका घिसिङसँग एनआरएनए यूकेले १५ अगस्टमा‘मिट एण्ड ग्रिट’ कार्यक्रम गरेको हो ।

उज्यालो नेपाल अभियान अन्तर्गत विदेश यात्रामा निस्किएको अनुभव सुनाउँदै घिसिङले उज्यालो नेपाल अभियानमा वैदेशिक लगानी भित्र्याउने कोसिसमा देश-विदेशका साथीहरुसँग जोडिएको जानकारी दिए । उनले नेपालीहरु विदेशमा डाक्टर, इन्जिनियर, वैज्ञानिक जस्ता पेशामा काम गरि रहेकाले नेपालले धेरै फाइदा लिन सक्ने अवस्था रहेको जनाए ।

घिसिङले डायस्पोराका नेपालीहरुले नेपालमा बस्ने र लगानी गर्ने कोसिस गर्दा सास्ती खेप्नु परेकाले पुन:विदेश नै फर्किएको अनुभव सुनाएको भन्दै यसलाई सम्बोधन हुनुपर्नेमा जोड दिए । सरकारले विदेशमा रहेका नेपालीहरुलाई संविधान प्रदत्त अधिकार दिनु पर्ने उनको भनाइ थियो ।

‘अबको विश्व उर्जामा निर्भर भएकाले नेपालमा जल विद्युतको संभाव्यता अझै छ’, उनले भने, नेपालमा सरकारले व्यवस्थित लगानी गर्ने वातावरण बनाए डायस्पोराबाट धेरै लगानी जाने देखिन्छ।’ घिसिङलाई फ्लोरबाट प्रवक्ता श्याम लुइँटेल, इ.विदुर घिमिरे, राज पाण्डे, पूर्वमेयर जीत रानाभाटलगायतले प्रश्न गरेका थिए ।

कार्यक्रममा सोधिएका प्रश्नहरुको जवाफ दिँदै घिसिङले यो उज्यालो नेपाल एक सामाजिक अभियान भएको बताए । ‘म नेपालमा बसेर नेपालकै लागि केही गर्न चाहन्छु त्यसमा लागि रहेको छु । यो अभियानलाई तपाईं सबैको सहयोग आवश्यक छ,’ उनले भने ।

अध्यक्ष पुडासैनीले कुलमान जस्ता प्रतिभा नेपालभर रहेकाले एनआरएनए यूकेले नेपाल राष्ट्र्का लागि काम गर्नेहरुसँग सहकार्यको हात अघि बढाउने जनाए । उनले घिसिङलाई बेलायतमा स्वागत पनि गरे ।

यसअघि अध्यक्ष पुडासैनी र उपाध्यक्ष डा.रक्षा थापाले फूल र खादा ओडाएर घिसिङलाई स्वागत गरेका थिए । एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको संचालन एनआरएनए यूकेका पूर्वसचिव तिलक भट्टराईले गरेका थिए ।

कार्यक्रममा उपस्थित सामाजिक अभियन्ताहरु तथा स्थानीयलाई एनआरएनए यूके इंग्ल्यान्ड राज्य परिषद् अध्यक्ष राममाया विष्टले स्वागत गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!