
लन्डन १६ अगस्ट २०२५ । प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेले बेलायत भ्रमणमा रहेका कुलमान घिसिङसँग भेटघाट कार्यक्रम आयोजना गरेको छ ।
अल्डरसटस्थित एम्पायर हलमा शुक्रबार १५ अगस्टमा उज्यालो नेपाल अभियानका अभियन्ता घिसिङसँग ‘मिट एन्ड ग्रिट’कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको हो । कार्यक्रम सुरु हुनुअघि घिसिङले अल्डरसटको प्रिन्सेस गार्डेनमा रहेको प्रथम भिक्टोरिया क्रस विजेता गोर्खा सैनिक कुलवीर थापामगरको सालिकमा रिथ चढाएका थिए । शुक्रबार संयोजकले भीजे डे पनि परेको थियो ।

सन् १८८९ डिसेम्बर १५ का दिन पाल्पा जिल्लामा जन्मिएका थापालाई १९१५ मा फ्रान्सको लू युद्धमा देखाएको बहादुरीका कारण भिसीबाट सम्मान गरिएको थियो । उक्त सालिकमा पनि एक घाइते सैनिकलाई युद्ध मैदानमा बोक्दै गरेको दृश्य देखाइएको छ । प्रथम विश्व युद्धमा घाइते एक ब्रिटिश र दुई गोर्खा सैनिकलाई बचाएर बहादुरी प्रदर्शन गरेका थापाको सन् १९५६ मा निधन भएको थियो ।
रिथ चढाउन नौमती बाजासहित एनआरएनए यूकेका अध्यक्ष प्रेमगाहामगर,प्रमुख संरक्षक, प्रमुख सल्लाहकार, सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्य, समाजसेवी, बुद्धिजीवी, शुभचिन्तक, मिडियाकर्मीलगायतको टोली प्रिन्सेस गार्डेन पुगेका थिए ।
त्यहाँ फर्किएका घिसिङलाई पाइपर धुन बजाउँदै एम्पायर हलमा प्रवेश गराएका थिए । हलभित्र घिसिङ बाजागाजासहित उपस्थित सबैले भव्य स्वागत गरिएको थियो । अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रमुख कार्यक्रम संयोजकसमेत रहेका उपाध्यक्ष अनिल मल्ल (तीर्थ)ले स्वागत मन्तव्य राखेका थिए । महासचिव जुरेन्द्र खजुमले कार्यक्रम सञ्चालन गरेका थिए ।
अध्यक्ष गाहामगर, प्रमुख अतिथि कुलमान घिसिङ, विशेष अतिथि बेलायती राजा चार्ल्स तृतीयको सुरक्षा विभाग सदस्य लेप्टेन कर्णेल टोलबहादुर खाम्चा मगरले कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा बेलायतमा सक्रिय विभिन्न संघ संघहरुका अध्यक्ष तथा प्रतिनिधिलाई प्रमुख अतिथि कुलमान घिसिङबाट मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै एनआरएनए यूकेका प्रमुख संरक्षक, प्रमुख सल्लाहकारहरु र सल्लाहकारहरुलाई समेत खादा, प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपालमा लोडसेडिङ अन्त्य, नेपाल विद्युत् प्राधिकरणलाई फाइदामा पुर्याएको, उज्यालो नेपाल अभियानलगायत विषयमा बोलेका थिए । अन्तरक्रियात्मक कार्यक्रममा सहभागीले उठाएका प्रश्नको जवाफ घिसिङले दिए ।
लेप्टेन कर्णेल टोलबहादुर खाम्चा मगरले कार्यक्रममा गोर्खाली इतिहास र भिजे डेको बारेमा प्रकाश पारेका थिए ।
अध्यक्ष गाहामगरले उज्यालो नेपालका अभियन्ता घिसिङसँग भेटघाटको कार्यक्रम राख्न पाउँदा खुसी लागेको भन्दै उपस्थित सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा एनआरएनए आईसीसी उपाध्यक्ष विश्वासदीप दिगेला, सल्लाहकारहरु थर्क सेन, पुरन गिरी, आईसीसी सदस्य विजय गुरुङ, श्रीप्रसाद गुरुङ, लेप्टेन कर्णेल टोल बहादुर खाम्चा मगर, एनआरएनए यूकेका प्रमुख संरक्षक डेबिट गुरुङ (दीपक), नेपाल पत्रकार महासंघ यूकेकी अध्यक्ष विमला सेने, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायतका अध्यक्ष बम सूर्यवंशी थापामगर, एनआरएनए यूकेका प्रमुख सल्लाहकार, सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्य, समाजसेवी, बुद्धिजीवी, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, शुभचिन्तक, मिडियाकर्मीलगायतको बाक्लो उपस्थिति थियो ।
सोही कार्यक्रममा तामाङ घेदुङ यूकेले पनि कुलमान घिसिङलाई सम्मान गरेको थियो । अध्यक्ष हिरासिंह वाइबा तामाङले संस्थाको तर्फबाट घिसिङलाई सम्मान गर्नुका साथै तामाङ सेलोमा नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा मोना यूकेका कलाकारहरुले कौरा नृत्य तथा थालीनाच प्रस्तुत गरेका थिए । थाली नाचको उद्गम थलो म्याग्दी जिल्लाको चिम्खोला गाउँलाई मानिन्छ ।
नेपालबाट आएका नितु पुन, युवराज मगर, कालिका रोका मगर, कृष्ण रेउलेलगायतले विभिन्न गीत गाएर भरपूर मनोरञ्जन दिलाएका थिए ।सांस्कृतिक कार्यक्रम सांस्कृतिक सचिब जानुका राइले संचालन गरेका छन्।












