लन्डन १ सेप्टेम्बर २०२५ । नेपाल भूतपूर्व सैनिक संघ विभागीय प्रमुख तथा नेपाली कांग्रेसको केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बु र बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच गत अगस्टट २६ तारिख २०२५ नेपाली राजदूतावास लन्डनमा भेटवार्ता भएको हो । भेटमा सांसद लिम्बुको साथमा नेपाल भूपू सैनिक संघका केन्द्रीय अध्यक्ष गर्जबहादुर गुरुङ, नेपाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङ, ब्रिटिस गोर्खा नेपाल भूतपूर्व सैनिक संघ (बीजीनेसा) युकेका नवनिर्वाचित अध्यक्ष केशबहादुर गुरुङ साथै उनको कार्यसमितिका सदस्यहरु र सल्लाहकारहरु उपस्थित थिए ।
बीजीनेसाको सक्रियतामा भएको भेटमा अध्यक्ष केश बहादुर गुरुङले संस्थाको तर्फबाट अनुसन्धान गरेको गोर्खा पेन्सन स्किम/Armed Forces Pension Schemes (AFPS) 1975 ब्रिटीस समकक्षले पाउँदै आएको पेन्सनको भिन्नतामा पाएको शोधपत्रअनुसार १५ देखि २२ वर्ष नोकरी गरेकोलाई सेवाको अनुपातमा र २२ वर्षभन्दा बढी सेवा गरेकालाई ब्रिटिस समकक्षसरह बराबर पेन्सन हुनुपर्ने तथ्यांकक व्यवहारिक देखिएकोले सोही शोधपत्रको आधरमा नै अबको वार्ता अगाडि बढ्नुपर्ने कुरामा जोड दिए ।
नेपाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङले गोर्खा पेन्सन जटिल विषय भएकोले भर्ती हुँदाको सम्झौतालाई त्रिपक्षीय सन्धिको आधारमा बेलायत र नेपाल सरकारको सम्बन्धलाई ध्यानमा राखी वीनवीन अवस्था बनाई ढिलो नगरी ब्रिटीस भूपू सैनिकहरुको समस्या जति सक्दो चाँडो समाधान गर्नुपर्नेमा जोड दिए । उनले नेपाली जनसम्पर्क समिति बेलायतले पनि ब्रिटिस भूपू सैनिकहरुको मागहरु सम्बोधन गराउन सहयोग गरिरहेको कुरा जानकारी गराए ।
नेपाल भूपू सैनिक संघका केन्द्रीय अध्यक्ष गर्जबहादुर गुरुङले आफू सन् १९९५ सालदेखि भूतपूर्व सैनिक संघमा लागेको र अरु संस्थाहरुसँग मिलेर सशक्त आन्दोलन गरेको उल्लेख गर्दै १९९० तिर ४५००० को संख्यामा रहेको भूपू सैनिकहरु हाल १८००० मा झर्दा पनि समस्याहरु यथावत रहेको बताए ।
केही वर्ष अगाडि मात्र एक ब्रिटिस गोर्खा सैनिक र एक भारतीय गोर्खा सैनिकको एउटै अस्पतालमा क्यान्सरको उपचारको क्रममा २५/२५ लाख खर्च भएको रहेछ । उक्त खर्च भएकोमा भारतीय भूपूको हकमा पूरा रकम भारतीय पक्षले तिरीदिएको र ब्रिटिस भूपूको हकमा केही अंशमात्रै ब्रिटीस पक्षले तिरी बाँकी व्यक्तिगत सम्पत्तिबाट तिर्नु परेको विषय प्रकाश पार्दै ब्रिटिस गोर्खाहरुको हकमा पनि ब्रिटिस समकक्षसरहको सम्मान वेलफेयर स्किम हुनुपर्ने उनले औंल्याए ।

नेपाल भूपू सैनिकको विभागीय प्रमुख तथा कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बुले आफू बीजीनेसाको चौथो महाधिवेसनमा बेलायतमा आइपुगेको स्मरण गराइन् । उनले आफ्नो बाबा स्वर्गीय मुगाधन राई ब्रिटिस सेनाबाट पहिलो छुट्टीमा नेपाल आउँदा २००७ सालतिर विश्वेश्वरप्रसाद कोइरालासँग सम्पर्कमा आई नेपालमा प्रजातन्त्र ल्याउन आन्दोलनमा सरिक भएको, पछि हाजिर हुन पनि नगएको र लगातार आन्दोलनमा सक्रिय भई ओखलढुङ्गा काण्डमा पनि संलग्न भएको स्मरण गराइन् । त्यसैबेलादेखि बाबाबाट राजनीतिक प्रेरणा प्राप्त भएको उनले बताइन् ।
हाल नेपाल सरकार र बेलायत सरकारबीच भइरहेको जीटुजी वार्तालाई थप उचाइमा लान आफूले के सहयोग गर्न सकिन्छ भनी प्रश्न गर्दै हाल के भइरहेको छ भनी उत्सुकता देखाइन् । हालको वार्ताको परिस्थिति बुझी सोही कुरा नेपाल फर्केपछि परराष्ट्रमन्त्री, पार्टी सभापति र जरुरी परेमा प्रधानमन्त्रीसमक्ष जानकारी गराउने र ब्रिटिस भूपूहरुको माग पुरा गर्न र समस्या समाधान गर्न आफूले सकेको सहयोग तथा पहल गर्ने आश्वासन दिइन् । उनले राजदूत घिमिरेको पालामा नै भूपू ब्रिटिस गोर्खाहरुको समस्या समाधान गर्नुपर्नेमा जोड दिइन् ।
राजदूत चन्द्रकुमार घिमिरेले सबैलाई स्वागत गर्दै आफूले कार्यभार सम्हालेपछि बेलायतका राजनीतिक पार्टीका नेताहरुसँग भेटेको र राजासँगको भेटमा पनि ब्रिटिस गोर्खाहरुको समस्याबारे अवगत गराउँदै आएको प्रस्ट पारे । यो गोर्खाहरुको समस्या फोरेन एन्ड कमनवेल्थ कार्यालय र अरु कार्यालयहरुबाट नभई बेलायती रक्षा मन्त्रालयबाट नै समाधान हुनुपर्नेमा उनको जोड थियो । हाल रक्षा मन्त्रालयसँग दूतावासको संवाद भइरहेको र द्वन्द्वको वातावरण सकारात्मक रहेको जानकारी गराए ।
अन्तमा, सांसद लिम्बुले बीजीनेसाले अनुसन्धान गरी तयार गरिएको ब्रिटिस भूपू सैनिकहरुको पेन्सन भिन्नताको शोधपत्र राजदूतलाई हस्तन्तरण गरेकी थिइन् ।








