
लन्डन २२ सेप्टेम्बर २०२५ । विभिन्न कार्यक्रमसहित लमजुङ समाज आमा समूह यूकेले शनिबार १५औँ वार्षिकोत्सव मनाएको छ ।
अल्डरसटस्थित दि लाउन्ज रेस्टुरेन्टमा आमा समूहले शनिबार २० सेप्टेम्बरमा लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङको प्रमुख आतिथ्यतामा भव्य रुपमा वार्षिकोत्सव मनाएको हो । आमा समूह अध्यक्ष तारा गुरुङले प्रमुख अतिथि पूर्णराज गुरुङ र विशेष अतिथिहरूलाई खादा, फेटा र आमा समूहको चेरी क्रमु ओढाई सम्मान गरेकी थिइन् ।
प्रमुख अतिथि पूर्णराज गुरुङसहित विशेष अतिथिहरू एसियन महिला एसोसिएसन यूकेका अध्यक्ष कल्पना गुरुङ, गुरुङ चलचित्र संघ हङकङका अध्यक्ष माया गुरुङ, तमु धीं यूके आमा प्रमुख कमलादेवी गुरुङ, तमु धीं लन्डन इकाई आमा अध्यक्ष देवकला गुरुङ र बीसीसी लन्डन आमा प्रमुख दिलमाया गुरुङलाई सम्मान गरिएको हो ।
संस्थापक अध्यक्ष ईन्द्र गुरुङ, पूर्वअध्यक्षहरू जुना गुरुङ, लक्ष्मी गुरुङ, निवर्तमान अध्यक्ष माला घले र प्रमुख अतिथि लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङ, संथापक अध्यक्ष चन्द्र प्रसाद गुरुङ र सल्लाहकार मोहन सिङ गुरुङले शुभकामना मन्तव्य राखेका थिए । विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम पनि भएको थियो ।
सचिव मोनिका गुरुङले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लक्ष्मी गुरुङले स्वागत मन्तब्य राखेकी थिइन् । निवर्तमान अध्यक्ष माला घलेले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
नेपालबाट बेलायत आएका गायक आसराम गुरुङले भव्य प्रस्तुति दिएका थिए । रोचक भाग्यशाली चिठ्ठा उपाध्यक्ष मनिता गुरुङले सञ्चालन गरेकी थिइन् ।
अन्त्यमा अध्यक्ष तथा कार्यक्रम संयोजक तारा गुरुङले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेकी थिइन् ।









