
लन्डन २४ सेप्टेम्बर २०२५ । तमु धीं यूकेको वार्षिक कार्यक्रमअन्तर्गत आगामी अक्टुबर १८ तारिखमा आजीवन सदस्य रात्रिभोज आयोजना गरिने भएको छ ।
आदर्श तमु अवार्ड-२०२५ वितरण, सांस्कृतिक कार्यक्रमसहित आजीवन सदस्य रात्रिभोज कार्यक्रम हुने तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले जानकारी गराएका छन् । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा हुनेछ ।
उनले कार्यक्रममा नयाँ सदस्यलाई स्वागत, सम्मानसमेत हुने बताए । गायिका प्रिया गुरुङलगायतले प्रस्तुति दिनेछन् । कार्यक्रममा प्रवेश र खाना नि:शुल्क हुने तमुधीं यूकेले जनाएको छ ।
यस वर्षको आजीवन रात्रिभोज कार्यक्रम संयोजक संस्थाका सचिव विमल गुरुङलाई तोकिएको छ । रात्रिभोज तयारीबारेमा १५ सेप्टेम्बरमा तमु धीं यूकेले छलफल गरेको थियो । कार्यक्रममा तमुधीं यूकेका सदस्य र सदस्य नभएकाहरु पनि सहभागी हुन्छन् ।
अध्यक्ष जुमकाजी गुरुङले आजीवन रात्रिभोजमा सहभागी हुन तमुधीं यूकेका पदाधिकारी, सदस्य लगायत बेलायतवासी नेपाली समुदायमा आग्रह गरेका छन् ।






