तमु समाज यूकेले भव्य रूपमा मनायो स्थापना दिवस, विभिन्न व्यक्ति सम्मानित

SHARE:


लन्डन ७ अक्टुबर २०२५ । तमु समाज यूकेले १८औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । लन्डन वेम्बलीस्थित बारहम पार्कमा रहेको आफ्नै समाज भवनमा समाजकी अध्यक्ष विन्दुकुमारी गुरुङ घलेको अध्यक्षतामा ४ अक्टुबरमा विशेष समारोहबीच तमु समाज यूकेले स्थापना दिवस मनाएको हो । लन्डन बरो अफ ब्रेन्टका लागि बेलायती राजाका प्रतिनिधि मि सीम लाई ओबीई डिएल प्रमुख आतिथ्यतामा भएको कार्यक्रम अध्यक्ष गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, प्रमुख अतिथि, तमु प्ये ल्हु संघ यूके अध्यक्ष क्याप्टेन (रि) डेमबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष विमला गुरुङ र युवा समूहका अध्यक्ष प्रज्ज्वलमान गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, उनकी धर्मपत्नी जयन्ती गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष तथा उनकी धर्मपत्नी चन्द्र सुवा गुरुङ, पूर्व अध्यक्षहरू अर्जुनकुमार गुरुङ, शिवचन्द्र गुरुङ र शिवकुमार गुरुङ, तमुधिं यूकेका पूर्वअध्यक्ष तथा तमु समाज यूकेका सल्लाहकार सुवसिं गुरुङ बीइएम, गोर्खा जिल्ला गुरुङ समाज बेलायतका संस्थापक अध्यक्ष तथा तमु समाज यूके सल्लाहकार ले. रि. थमप्रसाद गुरुङ, तनहुँ जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष, संरक्षक तथा तमु समाज यूके सल्लाहकार लेख गुरुङ, गोर्खा जिल्ला समाज बेलायतका पूर्वअध्यक्ष तथा तमु समाज यूकेका सल्लाहकार ले.रि. पञ्चबहादुर गुरुङ लगायतका पदाधिकारी, ट्रष्टिज, सल्लाहकार, आमा समूह, युवा समूह तथा बेलायतभरिबाट आएका सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो ।

कार्यक्रममा नव आजीवन सदस्यहरूलाई प्रमाणपत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो । साथै, उच्च शिक्षा हासिल गरेका र खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेका युवा सदस्यहरूलाई पनि सम्मान गरिएको थियो । अध्यक्ष बिन्दु घले र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले सुबिन घले (स्नातकोत्तर डिग्री प्राप्त), संगम गुरुङ (मुई थाई खेल विजेता) र धरान रन तथा यूके रनका अध्यक्ष सन्तोष राई (लन्डन म्याराथन–२०२५ का गिनिज बुक कीर्तिमानधारी) लाई तमु समाज यूके उत्कृष्ट सम्मानपत्र–२०२५ प्रदान गरी सम्मान गरे ।

त्यसैगरी, समाजका सहयोगी व्यवसायी प्रकाश गौतम (जय श्रीकृष्ण ज्वेलर्स, साउथ ह्यारो) लाई समाजमा आर्थिक तथा भौतिक सहयोगस्वरूप समाजको लोगो अंकित मायाको चिनो प्रदान गरी सम्मान गरियो । नेपालबाट आएका चर्चित कलाकार सुरज गुरुङलाई कलाक्षेत्रमा पुर्‍याएको योगदानका लागि ‘तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मान–२०२५’ प्रदान गरिएको थियो।

त्यस्तै, समाजको प्रगति र उन्नतिका लागि विशेष योगदान गरेका आजीवन सदस्यहरू गुमानसिं गुरुङ, बुद्धिबहादुर गुरुङ, बिना गुरुङ, नरबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ र युवा सदस्य ओसिएन रानालाई पनि ‘तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान–२०२५’ द्वारा अभिनन्दन गरिएको थियो।

सम्मानकै क्रममा तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन (रि) डेमबहादुर गुरुङलाई नेपाल तथा बेलायतका विभिन्न संघसंस्थामा सक्रिय रहँदै उल्लेखनीय योगदान गरेवापत ‘तमु समाज युके विशिष्ट समाज सेवा सम्मान–२०२५’ द्वारा सम्मानित गरिएको थियो । त्यसै अवसरमा प्रमुख अतिथि मि सीमलाई स्वागतस्वरूप दोसल्ला ओढाई समाजको लोगो अंकित प्ल्याक प्रदान गरियो।

कार्यक्रममा विभिन्न वक्ताहरूले संस्थाको १८ वर्षको यात्रा, उपलब्धि र आगामी योजनाबारे आफ्ना विचार राखे । प्रमुख अतिथिले सम्बोधनका क्रममा समाजको एकता, सहयोग र सामुदायिक सेवाको प्रशंसा गरिन् । उनले महिला र युवाको भूमिकाको महत्त्वमा जोड दिँदै बेलायतको वीन्चेस्टरस्थित गोर्खा संग्रहालय मर्मत तथा काठमाडौँका विभिन्न विद्यालयका १५ जना छात्राहरूको शिक्षाका लागि आफू आवद्ध ‘पान एसोसिएसन वुमन्स् एसोसिएसन’ मार्फत सहयोग गर्दै आएको जानकारी दिइन् । साथै, गोर्खा समुदायले बेलायती सेनामा पुरयाएको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै तमु समाज यूकेलाई आगामी दिनमा अझ सफलताका लागि शुभकामना व्यक्त गरिन् ।

तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन (रि.) डेम बहादुर गुरुङले बधाई तथा शुभकामना मन्तव्य दिँदै तमु समाज यूके र तमु प्ये ल्हु संघबीचको सम्बन्ध अत्यन्त घनिष्ट र सधैं सहकार्यपूर्ण रहेको उल्लेख गर्दै निरन्तर सहयोगको प्रतिवद्धता जनाए ।

शुभकामना मन्तव्यमा निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, पूर्व अध्यक्षहरू अर्जुनकुमार गुरुङ, शिवचन्द्र गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले संस्थाको निरन्तर प्रगति र एकतालाई सराहना गर्दै आगामी दिनहरूमा अझ उज्ज्वल भविष्यको कामना गरे । उनीहरुले संस्था १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरि परिपक्वता प्राप्त गरेको सन्दर्भमा यस यात्रामा योगदान पुर्‍याउने सम्पूर्ण पूर्व तथा वर्तमान पदाधिकारी, आजीवन सदस्य, दाता तथा शुभेच्छुकहरूप्रति धन्यवाद समेत व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष बिन्दु घलेले प्रमुख अतिथि, अन्य अतिथिहरू, पदाधिकारी, कलाकार, युवा तथा आमा समूहका सदस्यहरू र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै व्यक्तित्वलाई धन्यवाद व्यक्त गरिन् । उनले आगामी वर्षहरुमा समाजले सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा अझ सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत जनाइन् । घलेले समाजको १८औं वार्षिकोत्सव समारोहमा सम्मानित व्यक्तित्वहरू तथा उच्च शिक्षा हासिल गरेका युवाहरूलाई हार्दिक बधाईसहित निरन्तर प्रगतिको शुभकामना पनि व्यक्त गरिन् ।

कार्यक्रम सञ्चालन गर्दै महासचिव सुब घलेले तमु समाज यूकेको ऐतिहासिक पृष्ठभूमिदेखि हालसम्मका उपलब्धिहरूको संक्षिप्त विवरण प्रस्तुत गरे । वरिष्ठ उपाध्यक्ष भिमबहादुर गुरुङले स्वागत मन्तव्य दिए । कार्यक्रममा आमा समूह, युवा समूह र बुबा समूहका आकर्षक नृत्य प्रस्तुतिहरू तथा डिजे प्रज्वलमान गुरुङका गीत संगीतले सहभागीलाई मनोरञ्जन प्रदान गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!