सान्टिआगो (चिली)– फुटबल मैदानमा खेलको रोमाञ्च मात्र पाइँदैन । बेला बखत फुटबल मैदानमा यस्ता घटना र प्रसंग पनि जोडिन्छन्, जसले हेर्ने र सुन्ने सबैलाई थप रोमाञ्चित तुल्याउँछ । यस्तै घटना भएको छ, चिलीको घरेलु लिग फुटबलमा । चिलीको शीर्ष डिभिजनको लिग फुटबल प्रिमेरा डिभिजनको खेलअन्तर्गत मंगलबार राति एभर्टन र एन्टोफागस्टा भिडेका थिए । खेल सुरु भएलगत्तै एन्टोफागस्टाले अग्रता बनायो । भेनेजुएलाका खेलाडी इडुआर्ड बेल्लोले गोल गर्दै एन्टोफागस्टालाई खेल सुरु भएको दोस्रो मिनेटमै १–० ले अघि बढाएका थिए ।
खेलमा रोमाञ्चक क्षण त्यसपछि जोडियो । गोलको खुसीमा २३ वर्षीय मिडफिल्डर इडुआर्ड मैदानबाट बाहिर दर्शक रहेको प्यारापिटतर्फ दौडिए । भीडको माझमा रहेकी प्रेमिका ग्राब्रियला ब्रिटोभ्जको अगाडि पुगेर एकछिन रोकिए, अनि एउटा घुँडा टेकेर बिहेका लागि प्रस्ताव राखे । बिच भलिबल खेलाडी ब्रिटोभ्जले पनि प्रेमी इडुआर्डको प्रस्तावलाई तत्कालै स्विकार गरिन् ।
प्रेमिकालाई बिहेका लागि मनाउने इडुआर्डको त्यो शैलीलाई सबैले मन पराए । खेल हेर्न स्टेडियममा उपस्थित दर्शकले पनि ताली बजाएर उनको त्यो महŒवपूर्ण क्षणमा खुसी भरिदिए । यद्यपि उनको त्यो व्यवहार खेल खेलाइरहेका रेफ्रीलाई भने मन परेन । त्यसैले रेफ्रीले उनलाई दण्डित पनि गरे । रेफ्रीले मैदान बाहिर गएको कारण देखाउँदै इडुआर्डलाई पहेँलो कार्ड देखाएका थिए । खेलको नतिजा भने इडुआर्डको पक्षमा रहेन । खेलमा उनको टोली एन्टोफागस्टा एभर्टनसँग ३–२ गोलले पराजित हुन पुग्यो ।






