
लन्डन १४ अक्टुबर २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका सांसद ग्यारेथ थोमसले नेपाल-बेलायतबीच सिधा हवाई उडान सुरु गर्न आग्रह गरेको छ ।
एनआरएनएले सुरु गरेको डाइरेक्ट फ्लाइट टू काठमाडौं अभियानलाई समर्थन गर्दै सांसद थोमसले जानकारी दिइएको हो । संघका अध्यक्ष प्रेम गाहा मगरले भने, ‘सांसद थोमसको यो पहलले यूकेमा बसोबास गर्ने हजारौं नेपाली, विशेषगरी वृद्ध, विद्यार्थी र भूतपूर्व गोर्खा परिवारका लागि यात्रा सहज र सुलभ बनाउनेछ। यसले नेपाल–बेलायतबीच पर्यटन, व्यापार र जनस्तरको सम्बन्धलाई थप नयाँ उचाइमा पुर्याउनेछ।’
संघका कार्यवाहक अध्यक्ष तिर्थराज मल्ल (अनिल)ले भने, ‘लामो ट्रान्जिट र महँगो भाडाको झन्झटबाट यात्रुहरुलाई मुक्त गर्न सिधा उडान अत्यावश्यक छ। यस्तो उडान सुरु हुनु दुवै देशका जनबीचको सम्बन्धलाई अझ नजिक ल्याउने महत्वपूर्ण कदम हुनेछ।’
त्यसैगरी, संघका महासचिव जुरेन्द्र खजुम लिम्बुले भने, ‘यो अभियानको सफलताले यात्राको सहजतासंगै नेपाल र बेलायतबीचको आपसी सम्बन्ध र भावनात्मक नातालाई अझ प्रगाढ बनाउनेछ।”
संघका प्रमुख सल्लाहकार आर.के. त्रिपाठीले भने, ‘हामी सांसद थोमससँग प्रत्यक्ष समन्वयमा छौँ । बेलायतका प्रमूख विमानस्थलहरुबाट नेपालसम्म सीधा उडान सञ्चालनको सम्भाव्यता अध्ययन अघि बढाउन सक्रिय पहल भइरहेको छ।’
संघका प्रवक्ता डा. कुलप्रसाद कँडेलले भने, ‘सांसद थोमसको यो पिटिशन यूकेका नेपालीहरुको लामो प्रतीक्षा समाप्त गर्ने ऐतिहासिक कदम बन्न सक्छ। एनआरएनए यूके यस अभियानमा सक्रिय रुपमा सहभागी हुनेछ।’






