दल बहादुर बुढाथोकी मगर – बेलायत
नेपालको अस्तित्व संकट र गोर्खाहरूको भूमिका
पुर्खाहरूको रगत, पसिना र बलिदानबाट बनेको पवित्र मातृभूमि हो हाम्रो देश नेपाल । जसलाई आज विश्वले सगरमाथाको देश, शान्तिको अग्रदूत भगवान बुद्ध जन्मिएको भूमि र वीर गोर्खाहरूको गौरवशाली देश नेपाल भनेर चिन्दछन । तर दुर्भाग्यवश त्यस्तो पवित्र देश लामो समयदिखि शासकहरूको व्यक्तिगत स्वार्थ र सत्ता लिप्साको कारण अन्याय, अत्याचार, भ्रष्टाचार, नातावाद कृपावाद र बेथितीको दलदलमा डुब्दै गयो । उनीहरूले जनता र मातृभूमिप्रति आफ्नो कर्तव्य बिर्सिएर “आफू–केन्द्रित शासन” लाई संस्थागत बनाए आफ्नो व्यक्तिगत लोभ, नातावाद, कृपावाद र भ्रष्टाचारले राष्ट्रको मेरुदण्डलाई भाँच्ने अवस्थासम्म पुर्याए जसको परिणाम हो आजको अस्थिरता, अविश्वास र विखण्डन ।
जब देशमा अन्याय, अत्याचार र बेथितीले चरम रूप लिन्छ त्यसवेला युवा पुस्ता मौन रहँदैनन । त्यसै मौनतालाई भंग गर्दै भदौ २३–२४ गते सुशासन र पारदर्शिताको माग गर्दै जेन-जी पुस्ताका युवाहरूले सडकमा ओर्लिए । तर ती निर्दोष आवाजहरूलाई पनि “भ्रष्टहरुको भित्री घुसपैठ र योजनाबद्ध उथलपुथल” मार्फत हिंस्रक बनाए र देशका धरोहरहरू क्षणभरमै खरानीमा परिणत भए ।
गोर्खाहरूको बलिदानीले लेखिएको इतिहास र बनेको राष्ट्रको मेरुदण्ड
सन् १८१४ देखि १८१६ सम्म नेपाल र बृटिश इष्ट इन्डिया कम्पनीबीच भएको थियो “अग्रेज – नेपाल युद्ध” (Anglo–Nepal War) । त्यस युद्धमा गोर्खाली वीरहरूले देखाएको अदम्य साहस र वीरताको कारण सन् १८१६ मार्च ०४ मा बृटिश इष्ट ईन्डिया कम्पनीसंग ऐतिहासिक “सुगौली सन्धी” (Treaty of Sugauli) को जन्म भयो । जसले नेपाललाई आजसम्म बन्धकी बनाइराखेको छ । गोर्खाली युवाहरुलाई बृटिश सेनामा भर्ती गर्ने सर्तमा भएको उक्त युद्धविराम (Armistice Agreement of 1816) कै परिणामस्वरूप नेपाल अस्तित्वमा रहन सफल भयो । त्यसरी नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डता जोगाउने ऐतिहासिक भूमिका खेल्ने साधक बन्न पुगेका थिए गोर्खाहरू ।
पछिल्लो विस्तारको रूपमा, सन् १९४७ नोभेम्बर ०९ मा नेपाल, भारत र बेलायतबीच भएको “त्रिपक्षीय सन्धि (Tripartite Agreement)” ले त्यही ऐतिहासिक सन्धीलाई निरन्तरता दियो । यही सन्धी अन्तर्गत नेपाल सरकार स्वयंले औपचारिक रूपमा सहमति जनाई, गोर्खा युवाहरूलाई ब्रिटिश सेनामा पठाउने कानुनी व्यवस्था गरिएको थियो भने उनीहरूकानिम्ति संविधानमा आजसम्म पनि कहिँ कतै गोर्खाको “ग” शब्दसम्म लेखिएन । तर नेपालका स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमिकतादेखि लिएर राष्ट्रको मेरुदण्डको रुपमा रहेको सिंहदरबार साथै अन्य प्रमुख धरोहरहरूसमेत गोर्खाहरूले बगाएको रगत, पसिना र बलिदानीले जोगिएको र बनेका हुन् ।
को हुन बृटिश गोर्खा ?
त्यसरी विभिन्न समयमा संधी सम्झौता गरेर पठाएका बृटिश सेनामा सेवा गरेका र सेवारत गोर्खा र तिनका सन्तानहरू नेपाल र बृटिश (राज्य–राज्य})बीच भएको संधिअन्तर्गत वा सहमतिबाट सुनिश्चित गरिएको नागरिक (Treaty-based Nationals) हुन् बृटिश गोर्खा, अर्थात, उनीहरूको नागरिकता र पहिचान नेपाली र बेलायती हो । देशको स्वाधीनताको लडेका बहादुर गोर्खाहरूलाई नेपालका शासकहरूले आफ्नो स्वार्थ अनुकुल संधी गरी आफ्नोलागी अर्थोपार्जन गर्न विदेशी सेनामा सेवा गर्न पठाए ।
नेपाल संयुक्त राष्ट्र संघको सदस्य सन १९५५ मै भइसकेको र उसले राज्यविहीनता घटाउने सन्धीहरूमा हस्ताक्षर गरिसकेको हुनाले आफ्नै सन्तानलाई राज्यविहीन बनाउनु भनेको अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको खुला उल्लङ्घन गर्नु हो । बेलायतले दुइसय दश वर्ष पुगिसक्दा पनि विभेद गरिरहेको छभने, नेपालले, गोर्खाहरुले “आफू खुसी विदेशी (ब्रिटिश) नागरिकता” लिए भनेर झूटो व्याख्या गर्दै नेपाल नागरिकता ऐन २०६३ को दफा १०(१) मार्फत गोर्खा र उनीहरुका सन्तानहरूलाई “अनागरिक” बनाउने प्रयास गरिरहेको छ । यहाँनेर के बुझ्नुपर्छ भने गोर्खाहरूले ब्रिटिश अंगिकृत नागरिकता (Naturalization) आफूखुसी नभई ब्रिटिश साम्राज्यको निम्ति बहादुरी, इमान्दारी र बफादारीताकासाथ संसारको विभिन्न युद्धहरूमा लडेर योगदान पुर्याएबापत सम्मानस्वरुप प्राप्त गरेका हुन । विडम्बनासम्म के भयोभने त्यसरी नेपाली युवाहरूलाई विदेशी सेनामा सेवा गर्न पठाउँदा उनीहरूकानिम्ति संविधानमा आजसम्म कहिँ कतै गोर्खाहको “ग” सम्म पनि उल्लेख गरेनन । त्यो केवल गोर्खाहरूमाथी कानूनी अन्याय मात्र नभई त्यो त राष्ट्रप्रतिको विश्वासघात र इतिहासप्रतिको अपमान हो ।
फेरिएको परिस्थिति
बृटिश गोर्खाहरूले, गोर्खा र निजका सन्ततिहरूका वंशजको नेपाली नागरिकता निरन्तरता हुनुपर्ने निरन्तर माग गर्दै आइरेहेका छन । ज्ञापनपत्र बुझेपछी सबै प्रधानमन्त्री र मन्त्रीहरूले भर्खरै पुरा हुन्छ्जस्तो गरेर आशा देखाउने गरे । तर उनीहरूले देखाउने त्यो देखावती आश्वासनले गोर्खाको माग आजसम्म पनि संवोधन गरेन ।
नेपालको सत्ता–संस्कृति पुरै कुहिएको छ र जनताको विश्वास क्षीण हुँदै गएको छ । भदौ २३ र २४ गतेको जेन-जीको आन्दोलन केवल राजनीतिक विद्रोह मात्रै नभएर, “न्याय, पारदर्शिता र सुशासनको” आन्दोलन हो । आज उक्त जेन-जीको आन्दोलनबाट परिस्थिति फेरिएको छ । “जे हुन्छ, राम्रोकै लागि हुन्छ ।” हरेक संकटले एउटा नयाँ सुरुवात पनि ल्याएर आउँछ । त्यसैले पुराना यथास्थितिवादी, एकल नश्लीय र एकल जातिवादी शासकको वहिर्गमन भएको छ । यदि अहिले नेपाली जनता बिउँझे भने, यो पीडाबाट नयाँ युगको जन्म हुनेछ । त्यसैले अबको भविष्य भनेको युवा पुस्ताको हो ।
पुरानो रोगको नयाँ रूप
मानव समाजको सभ्यता र इतिहास हेर्दा उसले आफ्नो माटो र अस्तित्वको इतिहास भुल्न नसकेको परिघटनाहरू देख्न सक्छौं । आज संसारभर जिवित प्राणीहरूमध्ये विकशित र सबैभन्दा उत्कृष्ठ मानिआएको मानव-मानवबीच द्वन्द र भिडन्त चलिरहेको छ । संसारभर चलिरहेको त्यसकिसिमको भिडन्तको एउटामात्र ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ इजरायल र गाजा ! हामीले नेपालमा जेन-जी आन्दोलनबाट नयाँ बिहानीको आशा गर्दै पुरानै रोग लिएर नयाँ रूपमा नआओस भन्ने कुरामा सबै पक्षबाट सजकता अपनाउनु पर्दछ ।
गोर्खाहरूको कर्तव्य
सुगौली सन्धिदेखि त्रिपक्षीय सम्झौतासम्म गोर्खाहरूले सधैं राष्ट्रको सार्वभौमिकता, स्वाधीनता र अखण्डता जोगाएका छन् । तर त्यतिबेला नेपालका शासकहरुले होनहार नेपाली युवाहरूलाई आफ्नो सत्ता भोगबिलासको लागी पैसासँग विनिमय गर्नु नेपालको दुर्दशाको सुरुवात थियो । यतिबेला नेपाललाई जसले आजको यो अवस्थामा पुर्यायो त्यो शक्ति आफै कमजोर वा रक्षक अवस्थामा पुगेको जस्तो देखिन्छ तर नेपाललाई सधैंभरी अस्थिर बनाई आफ्नो रोटी सेकिरहने आन्तरिक तथा बाह्य शक्तिकेन्द्रबीच चरम राजनैतिक खिचातानी चलिरहेको छ ।
त्यसले गर्दा देशको अस्तित्वनै नरहने पो होकि भनेर देश तथा विदेशमा रहेका नेपालीहरू चिन्तित मनस्थिति लिएर रहेको अवस्था हो । तर संसारभार फैलिएर रहेका गोर्खाहरूको मन, मुटु नेपालको माटोकै निम्ति धड्किरहेको छ । नेपाल आमा आज पनि पुकारिरहेकी छिन्, मेरो धरोहरहरू खरानी भए । त्यो खरानी बनेको धरोहरहरूको फेरी पनि तिमीले नै पुनर्जीवन दिन सक्छौ । किनकी “बृटिश ईष्ट इन्डिया कम्पनि”को हातबाट यो राष्ट्रको माटो तिमीले नै बचाएको हौ । आज पनि त्यो जिम्मेवारी तिमीहरूकै हातमा छ । त्यसैले आज देश फेरि इतिहासको कठिन मोडबाट गुज्रिरहेको बेला गोर्खाहरूले आफूलाई जन्मदिने आमाको पुकार सुन्नेछन र यसपटक पनि मौन बस्ने छैनन । आशा गरौं ! त्यसकोलागी सबै गोर्खाहरू एकजुट भएर आफ्नो कर्तब्य निभाउन लाग्नेछन ।






