लन्डन २१ अक्टुबर २०२५ । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले आउँदो १५ नोभेम्बरमा राष्ट्रिय विभूति तथा किरात धर्मका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको १४१ औं जन्मजयन्ती मनाउने भएको छ ।
अक्फोर्डस्थित केनिङटोन भिलेज हलमा फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मनाउने तयारी भएको संघका अध्यक्ष राजेन्द्र खिम्दिङले जानकारी दिए । कार्यक्रम दिउँसो १ बजेदेखि ४ सम्म हुनेछ । तर पूजामा सहभागिता हुन चाहेमा बिहान १० देखि मध्याह्न १२ बजेसम्म उपस्थित हुनुपर्ने अध्यक्ष खिम्दिङ र सचिव पर्वत राईले जानकारी गराएका छन् ।
कार्यक्रममा सहभागी हुन बेलायतवासी नेपालीलाई आयोजकले आग्रह गरेका छन् ।
विक्रम सम्वत १९४२ कात्तिक २५ गते इलामको चुक्चि-नाम्वामा जन्मिएका फलामसिंह लिङ्देन (फाल्गुनन्द)लाई समाज सुधारका रुपमा पनि लिइन्छ । पूर्वी नेपालअन्तर्गत लिम्बूवान अग्रजहरुलाई भेला पारेर सत्यधर्म मुचुल्का जारी गरेपछि फाल्गुनन्दलाई समाज सुधारकका रुपमा लिने गरिएको इतिहास पाइन्छ ।
उनको निधन २००५ चैत २२ गते भएको थियो । नेपाल सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।






