लन्डन २९ अक्टुबर २०२५ । पाँचथर समाज सेवा युकेका अध्यक्ष नगेन्द्रराज नेम्बाङ र समाजसेवी पुनम वनेम नेम्बाङ सम्मानित भएका छन् ।
आइतबार ९ कात्तिक २०८२ मा पाँचथरको फाल्गुनन्द गाउँपालिकामा अवस्थित श्री सत्यहाङ्मा माविले एक कार्यक्रमबीच नेम्बाङ दम्पतीलाई सम्मान गरेको हो । सत्यहाङ्मा माविमा थप भवन निर्माण र खेल मैदान निर्माणका लागि जग्गा खरिद गर्न आर्थिक सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । नेम्बाङ दम्पतीले विद्यालयको जग्गा खरिदका लागि एक लाख रुपैयाँ नगद र गोर्खा वेलफेयरबाट निर्माणाधीन भवन नयाँ जस्तापाता छाउनका लागि १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।
कार्यक्रमका प्रमुख अथिति फाल्गुनन्द-२ का वडाध्यक्ष सन्तोषकुमार नेम्बाङ सत्यहाङ्मा माविका प्रधानाध्यापक अमिता सुब्बालगायतले नेम्बाङ दम्पतीलाई खादा, फूलमाला लगाइ सम्मानपत्रसहित सम्मान गरे ।
प्रमुख अथिति नेम्बाङले मन्तव्यको क्रममा युकेबाट आएका पाँचथर समाज सेवा युकेका अध्यक्ष नेम्बाङलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
प्रधानाध्यापक सुब्बा र युकेबाट आएका अतिथि नेम्बाङलगायतले पनि मन्तव्य राखेका थिए । कार्यक्रम सहायक प्रधानाध्यापक लोकेन्द्र फुयाँलले सन्चालन गरेका थिए ।
भाषिक शिक्षक एलबी नेम्बाङ, पूर्वप्रधानाध्यापक पृथीप्रसाद नेम्बाङ, टु स्टार ग्रामीण क्लबका अध्यक्ष अर्जुन नेम्बाङ र अन्य शिक्षक शिक्षिकाहरुलगायतको उपस्थिति रहेको थियो ।






