रोशन मेवाहाङ
लन्डन । बेलायतवासी किरात राईहरुको आफ्नै भूमि ग्याम्बल लेन, रिप्ले अवस्थित माङखिम तथा साकेला स्थलमा फरक धारका नेताहरुलाई एउटै मञ्चमा सम्मान गरिएको छ ।
किरात राई यायोक्खा बेलायतले शनिबार एक कार्यक्रमबीच संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता तथा पूर्वमन्त्री अशोक राई, महिला नेत्री सुशीला राई र नेपाली कांग्रेसका महासमिति सदस्य रविप्रकश राईलाई सम्मान गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले राजनीतिप्रति सबैले चासो राख्नुपर्नेमा जोड दिए । ‘राजनीति भनेको सबैभन्दा शक्तिशाली निकाय हो जसले देश र नागरिकलाई शासन गर्दछ’ राईले भने, ‘जस कारण सबै नेपाली जनताले राजनीति बुझ्न अत्यन्तै जरुरी छ ।’ उनले मन्तव्यकै क्रममा प्लेटोको भनाइ स्मरण गरे, ‘कि राजनीतिमा आँउ नत्र तिमीभन्दा कमजोरबाट शासित हुन तयार हौ ?’
फोरम वरिष्ठ नेता राईले किरँत राई यायोक्खा केन्द्र नेपाल र शाखा बेलायतले राम्रो कार्य गरेको भन्दै प्रशंसा गरे ।
विशिष्ट अतिथि रविप्रकाश राईले मुलुकलाई आमुल परिवर्तन गर्न किरात राई पुर्खाहरुले हरेक ऐतिहासिक कालखण्डहरुमा अतुलनीय योगदान दिएको स्मरण गराउँदै पुर्खाहरुको योगदानलाई सधैं शिरोपर गर्न सकेमात्र उनीहरुप्रति सच्चा सम्मान हुने बताए । उनले बेलायतवासी किरात राई र सम्पूर्ण नेपालीहरुले जीवन निर्वाह र सन्तानको भविष्यको खातिर यो देशको भाषा बोल्न परे पनि आफ्नो मातृभाषालाई बचाइराख्न आग्रह गरे । मातृभाषा जोगाएमात्र नेपाली र किरात राई रहने उनको भनाइ थियो । ‘यस संसारमा बाँच्नको लागि अवश्य सेता मान्छेको भाषा जान्नु पर्दछ तर जीवन्त बाँच्नका लागि आफ्नो भाषा जान्नु पर्दछ’ उनले भने । त्यस्तै नेत्री सुशीला श्रेष्ठ, पूर्व किराँया अध्यक्ष पदमबहादुर राईलगायतले मन्तव्य राखेका थिए ।
किरात राई बेलायतकी अध्यक्ष कल्पना राईको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय किरात राई यायोक्खाकी पूर्वअध्यक्ष सुमाया राई र यशोधा राई पनि उपस्थित थिए । कार्यक्रम सञ्चालन भने संस्थाकी महासचिव चन्द्रवती राईले गरेकी थिइन् ।






