लन्डन ५ नोभेम्बर २०२५ । गैरआवासीय नेपाली संघको आगामी २०२६ जनवरी ३० तारिखदेखि १२ औं अधिवेशन तथा विश्व सम्मेलनको नयाँ मिति तय गरिएको छ ।
अध्यक्ष बद्री केसी र अर्का अध्यक्ष महेश श्रेष्ठले बृहत् एकताको अवधारणा प्रस्तुत गर्दै संघको महाधिवेशन नयाँ मिति तय गरिएको हो । श्रेष्ठले एकताको प्रक्रिया अगाडि बढाए पनि उक्त समूहका अधिकांश असन्तुष्ट छन् ।
दुवै पक्षको भनिएको अवधारणा २ नोभेम्बरमा बसेको केसी समूहको बैठकले अनुमोदन समेत गरिसकेको प्रवक्ता फणिन्द्र पन्तले विज्ञप्तिमार्फत जनाएका छन् । एकताको महाधिवेशन कुन ठाउँमा गर्ने, कुन माध्यमबाट हुने खुलाइएको छैन । तर, महाधिवेशन जनवरी ३०, ३१ र फेब्रुअरी १ तारिखसम्म चल्ने जनाइएको छ ।
अवधारणाअनुसार दुबै पक्षका आईसीसीहरु भंग हुनेछन् र अध्यक्ष बद्री केसी र अर्का अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा महाधिवेशन सम्पन्न गर्न र बाँकी नियमित कार्यका लागि स्टेयरिंग कमिटी बनाइने भएको छ ।
यस्तै आगामी महाधिवेशनमा सबै पक्षको सहभागिता सुनिश्चित गर्न एमआईएस सिष्टमबाट सदस्यता एक महिनाका लागि खुलाइने भएको छ । यस्तै अधिवेशन प्रतिनिधि बन्नका लागि पुनः महाधिवेशन प्रतिनिधि खुलाउने पनि उल्लेख छ ।
यो सहमतिसँगै अब दुबै पक्षल विभिन्न अदालतमा एकअर्काका विरुद्ध दिएको जाहेरी निवेदन र मुद्दाहरु फिर्ता लिइनेछ । आपसी सहअस्तित्व स्वीकार गर्दै बृहद एकता गर्ने लक्ष्य राखिएको छ । यदि कुनै विवाद उत्पन्न भएमा परराष्ट्र मन्त्रालयसँगको समन्वय र सहभागितामा समाधान गर्ने सहमति गरिएको छ ।
यस्तो छ बृहत् एकताको अवधारणाका मुख्य बुँदा
१)आपसी सह अस्तित्व स्वीकार्दै बृहत एकता सहित १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन संयुक्त रुपमा आयोजना गर्ने। उक्त महाधिवेशन पारदर्शी एवं विश्वासयोग्य रूपमा सम्पन्न गर्न र नियमित कार्यालय सञ्चालन गर्नका लागि डा बद्री केसी र महेश कुमार श्रेष्ठको संयुक्त संयोजकत्वमा सबै पक्षका व्यक्तिहरु समावेश गरी एक स्टेयरिङ समिति (Steering Committee) गठन गर्ने। उक्त समितिले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को विधान २००३ (संशोधन २०२२) बमोजिम निर्वाचन समिति, निर्वाचन अनुगमन समिति, सदस्यता तथा प्रतिनिधि व्यवस्थापन समिति र न्यायिक समिति गठन गर्ने।
२) १२औं अन्तर्राष्ट्रिय महाधिवेशनमा सबैजनालाई सहभागी गराउने सुनिश्चित गर्न MIS System बाट थप एक महिनाको लागि सदस्यता आव्हान गर्ने। MIS प्रणालीको पारदर्शिता र निष्पक्षताको लागि सहमतिको आधारमा व्यवस्थापन समिति गठन गर्ने।
३) १२औं अन्तर्राष्ट्रिय महाधिवेशनमा सबै पक्षका व्यक्तिहरूलाई प्रतिनिधि बन्न अवसर दिन पुन: महाधिवेशन प्रतिनिधिको आवेदन खुलाउने।
४) १२ औँ महाधिवेशन तथा विश्व सम्मेलन आगामी सन् २०२६ जनवरी महिनाको ३०,३१ र फेब्रुअरी १ तारिकमा सम्पन्न गर्ने।
५) संघमा विगतका १०औं र ११औं महाधिवेशनका सन्दर्भमा देखिएका विभिन्न परिस्थितिका कारण गठन भएका कार्यसमितिहरूलाई अभिलेखिकरण गर्ने।
६)एनआरएनको वैधानिकता लगायतका विषयमा अदालतमा परेका मुद्दाहरू सबै पक्षले आपसी सहमतिमार्फत समाधान गर्ने।
७) कुनै विषयमा विवाद उत्पन्न भएमा परराष्ट्र मन्त्रालयसँगको समन्वय र सहमतिमा समाधान गर्ने।
८) यस सहमतिको कार्यान्वयन तथा १२ औँ महाधिवेशन र निर्वाचन संघको विधान २००३ (संशोधन २०२२) परिधिभित्र रही गरिनेछ।








