काठमाडौं । स्याङ्जाकी एन्सर्ज गुरुङलाई सानैदेखि नृत्य र अभिनयमा रुचि थियो । अहिले त्यही रुची बाँच्ने आधार बनेको छ । उनी फिल्म निर्माता एवं नायिका हुन् । उनले ‘प्हीरुमाला’, ‘मनको बाबरी’, ‘म्ले क्यु’ (बिर्साउने पानी) र ‘आमाको मन’ फिल्ममा अभिनय गरेकी छन् । यीमध्ये मनको बाबरीले निकै चर्चा कमायो । जुन चलचित्र नेपाल, हङकङ, युके, जापानलगायत देशमा प्रदर्शन भएर मनग्य आम्दानी भएको निर्माण पक्षले जनाएको छ ।
मनको बाबरी सामाजिक कुरितीका विरुद्ध निर्माण गरिएको छ । ‘प्हीरुमाला’ उनको डेब्यू फिल्म हो । यो गुरुङ समुदायको संस्कृतिसँग सम्बन्धित छ ।
एन्सर्ज आफ्नो समुदायको कला संस्कृतिलाई बाहिर ल्याउनुपर्छ भन्ने मान्यता राख्छिन् । कतिपय मौलिक संस्कृतिहरु लुकेर रहेका छन् । यसले गर्दा लोपोन्मुख हुँदै गएका छन् । यीनलाई जोगाउनकै लागि चलचित्र निर्माण, अभिनय र नृत्यमार्फत कम्मर कसेकी छिन् । सानैदेखि चलचित्र क्षेत्रमा रुचाउने उनी साँच्चै आफ्नो सपना पूरा भएको बताउँछिन् । एन्सर्ज चारवटा म्युजिक भिडियो गरेकी छन् । मौलिक भाका सालैजो, कौडा, ‘छोरीको बेदना’ तीज गीत र आधुनिक गीत ‘वियोग’मा म्यजिक भिडियोमा अभिनय छ उनको ।
उनले निर्माण तथा अभिनय गरेका फिल्म तथा म्युजिक भिडियोहरु विदेशमा पनि प्रदर्शन भएका छन् । फिल्म तथा म्युजिक भिडियो प्रदर्शनका क्रममा हङकङ, युके, जापान, युरोप पुगेकी छन् ।
उनी चलचित्रमा पनि प्रायः गरेर आर्टमुभीलाई प्राथमिकता दिन्छिन् । नेपाली मौलिकतालाई प्राथमिकतामा राख्छिन् । नौलो परिवेश, रहनसहन, समसामयिक गतिविधिहरुलाई समेटिएको कथावस्तुलाई चलचित्रको पर्दामा उतार्ने गर्छिन् । उनको विशेषता भनेकै समाजमा लुकेर रहेका जाति, भाषा, कला, संस्कृतिलाई खोज्ने, उजागर गर्ने तथा जगेर्ना गर्ने हो । भन्छिन्, ‘एक्स्पोज हुन नसकेका जाति, भाषा, कला, संस्कृतिमा मौलिकता हुन्छ, इतिहास हुन्छ नि त !’
कला क्षेत्रमा उनको योगदानलाई कदर गर्दै गतवर्ष तमुधिं युकेले ‘नेपाली मेला’मा सम्मान ग¥यो । जनजाति समुदायको मौलिक संस्कृति र पहिचानलाई माथि उठाउन योगदान पु¥याएको भन्दै हालै जनजाति महासंघ अमेरिकाले पनि फिल्म फेस्टिबलका अवसरमा सम्मान गरेको थियो ।
विद्यालय शिक्षा हुँदै स्नातक तहसम्मको अध्ययन गरिसकेकी उनी यतिबेला कला क्षेत्रमै व्यस्त छिन् । कला क्षेत्रको अलावा समाजसेवामा रुची राख्छिन्, एन्सर्ज । समिदा वुमेन डेभलपमेन्ट फोरममा उपाध्यक्ष पदमा रहेर दुई वर्ष सेवा गरेको अनुभव छ उनीसँग । समिदाले एकल महिला तथा बालबालिकाहरुको क्षमता विकास गर्ने कार्यक्रम गर्दछ ।
उनी कला क्षेत्र तथा समाजसेवाका क्रममा बटुलेका अनुभवहरु भावी पिढीका लागि हस्तान्तरण गर्दै जाने प्रतिबद्धता गर्छिन् । ‘युवापुस्तामा हस्तान्तरण गर्नु भनेको अनुभवहरुलाई जीवित राख्नु हो’ चलचित्र निर्माता एवं नायिका एन्सर्ज भन्छिन्, ‘जुनचाहि“ भावी पिढीका लागि व्यक्तित्व विकासको आधार बन्छ ।’
स्याङ्जाको खिलुङ देउरालीमा जन्मीइन्, त्यहीं हुर्किइन् । अध्ययन तथा कार्य केही वर्ष बुटवल बसिन् । अचेल ललितपुरमा बस्छिन् । जुनसुकै ठाउँ वा देशलाई कर्मथलो बनाए नि ! आफ्नो कला, भाषा र संस्कृतिलाई जोगाइराख्नुपर्ने उनी बताउँछिन् ।






