लन्डन । तमु समाज यूकेले ल्हु–ल्होछार (नयाँ वर्ष)को तयारी थालेको छ ।
तमु समुदायको महान् पर्व ल्होछारलाई हरेक वर्ष उत्सवका रुपमा मनाउँदै आएकव समाजले ल्हु-ल्होछार मनाउने प्रक्रिया सुरु गरेको हो । समाजले यही ३१ अक्टोबरमा ल्हु ल्होछार पूर्वतयारी बैठक बोलाएको छ । आगामी ल्हु–ल्होछार २०८३ को कार्यक्रम सफलतापूर्वक आयोजना गर्ने तयारीस्वरूप पूर्वतयारी बैठक बोलाएको समाजले जनाएको छ। गुरुङ समुदायले हरेक पुस १५ लाई ल्होछारको रुपमा मनाउँछन् । तर बेलायत लगायत विभिन्न मुलुकमा रहेका तमुहरुले आफ्नो अनुकूल विशेष दिनबाहेक पनि ल्होछार मनाउने चलन छ ।
बैठक दिउँसो १२:३० बजे समाजकै आफ्नै भवन, बेम्बलीमा बस्ने छ । बैठकमा ल्हु–ल्होछार कार्यक्रमको तयारी तथा व्यवस्थापनका विषयमा छलफल गरिने जनाइएको छ। समाजले बैठकमा सम्बन्धित सबै पदाधिकारी, सदस्य, आमा समूह, युवा समूह, सल्लाहकार, आजीवन सदस्य तथा सम्पूर्ण शुभेच्छुकहरूलाई उपस्थित हुन हार्दिक अनुरोध गरेको छ।
तमु समाज यूके सन् २००७ मा स्थापना भएको संस्था हो। यो बेलायतमा दर्ता भएको परोपकारी संस्थासमेत हो। तमु समाज यूकेले शनिबार ३ अक्टोबरमा १९औँ वार्षिकोत्सव मनाएको थियो ।






