लन्डन बरो अफ ब्रेन्टको सिभिक रिमेम्ब्रेन्स सर्भिस-२०२५मा तमु समाज यूकेले भाग लियो

SHARE:

शिवकुमार गुरुङ
लन्डन ११ नोभेम्बर २०२५ । तमु समाज यूकेले लन्डन बरो अफ ब्रेन्टद्वारा क्विन एलिजाबेथ गार्डेन, बरहाम पार्क, वेम्बलीमा आयोजित ब्रेन्ट सिभिक रिमेम्ब्रेन्स सर्भिस-२०२५ मा भाग लिएको छ ।

आर्मी, नेभि, एअरफोर्स र पुलिस केडटहरू, सेन्ट जोन्स एम्बुलेन्स, रोयल ब्रिटिश लिजन वेम्बली र सडबरी शाखा, स्काउट, ब्रिटिश गोर्खा नेपाली एसोसिएशन (BGNA) लगायत विभिन्न युनिफर्मधारी संघ–संस्था र रेजेन्ट ब्रास ब्याण्डका साथमा तमु समाज यूकेका ब्रिटिश गोर्खा भूतपूर्व सैनिक (भेटरन) हरूले आइतबार दिउँसो ठिक १:५० बजे परेडमा सहभागिता जनाएका थिए । परेडको कमाण्ड रोयल एयर फोर्सका फ्लाइट लेफ्टिनेन्ट जितेन्द्र गुरुङले गरेका थिए ।

डीन अफ ब्रेन्ट, रेवरेन्ड सोफी शुइल-ब्रेवरद्वारा सञ्चालित रिमेम्ब्रेन्स सर्भिसमा डेपुटी लेफ्टिनेन्ट पुरस्कार निबन्ध प्रतियोगिता २०२५ का प्रथम र द्वितीय स्थान हासिल गर्ने विद्यार्थीहरूले आफ्ना निबन्ध वाचन गरेका थिए ।

कार्यक्रममा राष्ट्रका लागि विभिन्न युद्धहरूमा जीवन बलिदान गर्ने वीर सैनिकहरूको सम्मानमा नागरिक प्रार्थना, ट्रम्पेट ‘लास्ट पोस्ट धुन, एक मिनेट मौन धारण, ‘रेभालि धुन, तथा बेलायतको राष्ट्रिय गान बजाइएको थियो ।

स्मरण समारोहमा प्रमुख अतिथिले मन्तव्य दिएपछि प्रमुख अतिथि, ब्रेन्टका मेयर, अन्य विशिष्ट व्यक्तित्वहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूद्वारा बरहाम पार्कस्थित युद्ध स्मारकमा रिथ (Wreath) अर्पण गरिएको थियो । तमु समाज यूकेका तर्फबाट अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले रिथ अर्पण गरेकी थिइन् ।

कार्यक्रमको अन्त्यमा रेजेन्ट ब्रास ब्याण्डको धुनसहित परेड मार्चपास्ट गरी ब्रेन्ट सिभिक रिमेम्ब्रेन्स सर्भिस औपचारिक रूपमा सम्पन्न गरिएको थियो ।

रिमेम्ब्रेन्स सर्भिस समाप्त भएपछि तमु समाज यूकेले प्रमुख अतिथि तथा ब्रेन्ट काउन्सिलका विशिष्ट अतिथिहरूको सम्मानमा बरहाम पार्क स्थित तमु समाज यूके नेपलिज कम्युनिटी सेन्टरमा भव्य करि लन्च कार्यक्रम आयोजना गरेको थियो । करि लन्च कार्यक्रममा डेपुटी लेफ्टिनेन्ट मिई सिमलाई OBE, मेयर अफ ब्रेन्ट काउन्सिलर रयान ह्याक, काउन्सिल लिडर काउन्सिलर मोहमेद बट, पार्लियमेन्टका माननिय सांसद द्वय बेरी गर्डिनर एमपी, र डन बट्लर एमपी, साथै विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय काउन्सिलर, तमु समाज यूकेका पदाधिकारी, सल्लाहकार, सदस्य तथा आमा–दिदीबहिनीहरूको उपस्थितिले कार्यक्रमलाई भव्य बनाएको थियो ।

कार्यक्रमको सञ्चालन निवर्तमान महासचिव धरम बल गुरुङले गरेका थिए।उहाँले हेल्थ एण्ड सेफ्टीसम्बन्धी जानकारी दिँदै अतिथिहरूलाई स्वागत गर्दै संस्थाको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए । त्यसपछि प्रमुख अतिथि मिई सिम लाई OBE DL, मेयर रयान ह्याक, सांसद डन बट्लर, काउन्सिल लिडर मोहमेद बट र सांसद बेरी गर्डिनर क्रमशः मन्तव्य दिँदै तमु समाज यूकेले समुदायका लागि गर्दै आएको योगदानको प्रशंसा गरेका थिए ।

वक्ताहरूले गोर्खाली सैनिकहरूले पहिलो र दोस्रो विश्वयुद्धमा बेलायतका लागि पुर्याएको अमूल्य योगदान स्मरण गर्दै तमु समाज यूकेको निरन्तर सामुदायिक सेवाको उच्च प्रशंसा गरे।
साथै, सन २०१७ देखि तमु समाज यूकेले रिमेम्ब्रेन्स सर्भिसपछि निरन्तर रूपमा करि लन्चको परम्परा कायम राख्दै आएको उल्लेख गर्दै संस्थाप्रतिको आभार व्यक्त गरे ।

त्यसैगरी, प्रमुख अतिथि डेपुटी लेफ्टिनेन्ट मिई सिम लाई OBEले तमु समाज यूकेले गत शनिबार, ८ नोभेम्बरका दिन सिटी अफ लन्डनमा सम्पन्न “लेडी मेयरस् शो” मा ऐतिहासिक सहभागिता जनाई नेपाल र नेपाली समुदायको प्रतिनिधित्व गरेको कार्यको प्रशंसा गरे ।

कार्यक्रमको अन्त्यमा तमु समाज यूकेकी अध्यक्ष श्रीमती बिन्दु कुमारी गुरुङ घलेले सबै अतिथिहरू र सहभागीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरिन् । त्यसपछि रारा केटरिङ द्वारा तयार पारिएको स्वादिष्ट नेपाली करि लन्च सबैले ग्रहण गरे । उपस्थित अतिथिहरूबीच आत्मीय भलाकसुरी तथा फोटो सेसनपछि कार्यक्रम अपराह्न ५ बजे सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!