अल्डर्सट, बेलायत। – बेलायतमा रहेका नेपाली समुदायका परिचित अनुहार, समाजसेवी तथा सक्रिय अभियन्ता डा. बिशाल गुरुङ अब कन्जर्भेटिभ पार्टी (Conservative Party) तर्फबाट वेल्लिन्टन वार्ड (Wellington Ward) का काउन्सिलर उम्मेदवार बनेका छन्।
स्याङ्जा जिल्लामा जन्मिएर करिब नौ वर्षअघि बेलायत आएका डा. गुरुङ हाल अल्डर्सटमा बसोबास गर्दै आएका छन्। बेलायतमा रहँदै उनले गाउले संस्था, जातीय संगठन र विभिन्न नेपाली संघ–संस्थासँग हातेमालो गर्दै समुदायको सेवामा आफूलाई समर्पित गरेका छन्।
डा. गुरुङ भन्छन्,
“हामी नेपालीहरू बेलायतमा पनि आफ्नो धर्म, संस्कृति र पहिचान सुरक्षित राख्न सफल भएका छौँ। अब चाहिँ यहाँका स्थानीय निकायसँग सहकार्य गर्दै, नेपाली समुदायसम्म सरकारी सेवा र अवसर पुर्याउने, अनि बेलायती साथीहरूसँग अझ नजिकको सम्बन्ध बनाउने मेरो लक्ष्य हो।”
उनले थपे,
“अल्डर्सट हाम्रो साझा घर हो। म सबै बासिन्दाको आवाज सुन्ने, र समुदायको हितमा काम गर्ने काउन्सिलर बन्न चाहन्छु। तपाईंहरूको अमूल्य समर्थन र मतको अपेक्षा गर्दछु।”
कन्जर्भेटिभ पार्टीका स्थानीय नेताहरूका अनुसार डा. गुरुङ समुदायका लागि प्रतिबद्ध, व्यवहारिक र इमानदार उम्मेदवार हुन्। उनीहरूले विश्वास व्यक्त गरेका छन् कि डा. गुरुङको उम्मेदवारीले वेल्लिन्टन वार्डमा नेपाली समुदायको आवाजलाई अझ सशक्त रूपमा प्रतिनिधित्व गर्नेछ।
स्थानीय नेपालीहरूले पनि उनको उम्मेदवारीलाई स्वागत गर्दै शुभकामना व्यक्त गरेका छन्। धेरैले सामाजिक सञ्जालमार्फत लेखेका छन् –
“डा. बिशाल हाम्रो समुदायको अभिमान हुन्। अब बेलायतको स्थानीय सरकारमा हाम्रो आवाज पुग्नेछ।”
वेल्लिन्टन वार्डका मतदाताहरूले अब आगामी चुनावमा आफ्नो आवाज प्रतिनिधित्व गर्ने एक सक्रिय नेपाली उम्मेदवार पाएका छन्।
समुदायभित्र उत्साहको माहोल छ — ‘अब हाम्रो नेपाली काउन्सिलर आउनेछ!’






