
– रामकुमार सिङ्थेबे
लन्डन १७ नोभेम्बर २०२५ । बेलायतमा महागुरु फाल्गुनन्द लिङ्देनको १४१औं जन्मजयन्ती कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ ।
नेपालको राष्ट्रिय विभूति गुरुका पनि गुरु महागुरु, मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती १५ नोभेम्बर २०२५ का दिन अक्सफोर्ड शहरमा भव्यताका साथ मनाइएको हो । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति यूकेका अध्यक्ष राजेन्द्र खिम्दिङको अध्यक्षतामा भएको जन्मजयन्ती समारोहका प्रमुख अतिथिमा नेपाली दूतावास लन्डनका दोस्रो सचिव सन्जोक राई तथा विशेष अतिथिमा डेपुटी लेफ्टिनेन्ट इमाम मनावर हुसेन एमबीई थिए ।
आमन्त्रित पाहुनाहरुमा किरात याक्थुङ चुम्लुङ यूकेकी अध्यक्ष कमला सेन्दाङ, नेपाल पत्रकार महासंघ यूकेकी अध्यक्ष बिमला सेने, लरेन्स पाटर्न सदस्य गोर्खा नेपाली समाज अक्सफोर्डसायर, रिटार्ड लेफ्टिनेन्ट लोरी मिट्चेल, एनआरएनए यूकेका महासचिव जुरेन्द्र खजुम, गोर्खा नेपाली समाज अक्सफोर्डका अध्यक्ष कृष्ण फेम्बो, तमु धीं समाज अक्सफोर्डसायरका अध्यक्ष सन्जय गुरुङ, नेपाली समाज अक्सफोर्डसायरका अध्यक्ष दिपा थापालगायत आमन्त्रित विभिन्न संघ सस्थाको अग्रज व्यक्तित्वहरु साथै बेलायतका विभिन्न शहरबाट आफ्नो मौलिक भेषभूषामा उपस्थित भक्तजन, आस्थावन र शुभचिन्तकहरुको बाक्लो उपस्थितिले कार्यक्रममा रौनकता छाएको थियो ।
पहिलो चरण बिहान सेवा पूजा कार्यक्रम तथा अपराह्न जन्मजयन्ती समारोह । बिहान सेवा पूजा कार्यक्रम संयोजक संस्थाका प्रमुख सेवासाबा साङदाङगेन वरुमसाबा मंगलसिङ लिङ्देनको नेतृत्वमा भएको थियो । बाहिरको देवदेवता (कुदापकुई) सबै पूजी सकिएपछि भित्रका इष्ट देवहरु पूज्ने क्रममा संस्थाका अध्यक्ष राजेन्द्र खिम्दिङद्वारा मुजुत्लुङको दियो बाली सेवा सुरु गरी सबै उपस्थित सेवासाबा, सेवासामा, साङदाङगेन वरुमसाबा, साङदाङगेन वरुमसामाहरुद्वारा आ-आफ्नो कार्य विभाजनअनुसार सम्जिक मुन्धुम वाचन गरी सेवा सम्पन्न गरियो ।
अपराह्न समारोहमा प्रमुख अतिथि, विशेष अतिथिलगायत अध्यक्षद्वारा दिप प्रज्वलन तथा पामाङ मामाङ र महागुरुहरुको तस्बिरमा माल्यार्पण गर्दै राष्ट्रिय धुनका साथ समारोह कार्यक्रम सुरु गरिएको थियो । यस भव्य र सभ्य कार्यक्रमको सञ्चालकमा संस्थाका सचिव पर्वत राई थिए भने सम्पूर्ण आमन्त्रित पाहुनालगायत उपस्थित भक्तजनहरुमा सस्थाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक नन्दा चेम्जोङले न्यानो स्वागतका साथ आफ्नो स्वागत मन्तव्य राख्नका साथै संस्थाका सह-कोषाध्यक्ष कुमुद नेम्बाङद्वारा महागुरुको जीवनी प्रस्तुत गरिएको थियो ।
राजदूतको अनुपस्थितिमा उपस्थित भएका प्रमुख अतिथि सन्जोक राईले आफू नेपालबाट बेलायतमा आएको पनि १ महिना मात्र हुन लागेको उल्लेख गर्दै ४ वर्षको कार्यकालमा यस धार्मिक संस्थाको हरेक गतिविधिमा व्यक्तिगत तथा नेपाली दूतावास समावेश हुनसक्नेछ भन्ने जानकारी गराए ।
पत्रकार महासंघ बेलायत अध्यक्ष बिमला सेनेले आफ्नो मन्तव्यको क्रममा महागुरुको कृति र अहिंसा, सत्य, दया, शान्ति र करुणामयी सन्देशको स्मरण गराउँदै अहिलेको पत्रकारिताको वातावरणमा केही सजक रहनुपर्ने सुझाव राखिन् । धेरैजसो पैसा कमाउने लालचमा भ्रम फैलाउने कार्य पनि बढ्दो रहेको भन्दै यसमा सबै सजक रहनुपर्ने उनको भनाइ थियो ।
किरात याक्थुङ चुम्लुङ यूकेकी अध्यक्ष कमला सेन्दाङले महागुरुले सुरु गरेको विश्व शान्ति तथा मानव एकतालाई अनुशरण गर्न ढिलो भएको भन्दै यसलाई आफूहरुले अनुशरण गर्नु नै विश्व शान्ति कायम गर्नु रहेको बताइन् ।
अन्त्यमा संस्थाका अध्यक्ष राजेन्द्र खिम्दिङले सम्पूर्ण आमन्त्रित पाहुना तथा धर्मावलम्बीहरुलाई स्वीकार गरी उपस्थित भई यस कार्यक्रमलाई सम्पन्न गर्न मद्दत गरिएकोमा तथा कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष सबै क्षेत्रबाट मद्दत पुर्याउने सबैमा विशेष धन्यवाद प्रकट गरे । उनले आउने वर्ष १४२औं जन्मजयन्ती १५ नोभेम्बर २०२६ का दिन आशफोर्ड केन्टमा हुने जानकारी गराउँदै आफ्नो मन्तव्य तथा कार्यक्रम समापनको घोषणा गरे ।







