वंशजको नेपाली नागरिकता निरन्तरता र बेलायतबाटै मतदान गर्न पाउनुपर्ने गृहमन्त्रीसमक्ष गोर्खाहरूको माग

SHARE:

लन्डन ६ डिसेम्बर २०२५ । गोर्खाहरूले वंशजको नेपाली नागरिकता निरन्तरता र बेलायतबाटै मतदान गर्न पाउनुपर्ने माग नेपालका गृहमन्त्री ओमप्रकाश अर्यालसँग राखेका छन् ।

ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी)को प्रतिनिधि संस्था भूतपूर्व सैनिक कल्याणकारी समिति, नेपाल (भूपूसैकसने)को प्रतिनिधि मण्डलले ५ डिसेम्बर २०२५, शुक्रबार गृह मन्त्रालय सिंहदरबार पुगेर आफ्ना विभिन्न माग समेटिएको ज्ञापनपत्र गृहमन्त्री अर्याललाई बुझाएका हुन् ।

ज्ञापनपत्र समितिका सचिव तथा वरिष्ठ अधिवक्ता चेत आलेले पढेर सुनाएपछि अध्यक्ष हुमबहादुर थापाले गृहमन्त्री अर्याललाई हस्तान्तरण गरेका थिए । ‘सन् १९४७ को त्रिपक्षीय सन्धिअनुसार बेलायती सेनामा सेवा गरेका, सेवारत गोर्खाहरू र निजका सन्ततिहरूको वंशजको नेपाली नागरिकता निरन्तरता हुनुपर्ने र आगामी राष्ट्रिय निर्वाचनमा आफ्नो नागरिकताको परिचयपत्र देखाई बेलायतबाटै मतदान दिने व्यवस्था मिलाइदिनुहुन सीएनसीबीजीको माग अन्तरिम सरकारका गृहमन्त्री माननीय ओमप्रकाश अर्यालज्यूलाई बुझाइयो,’ उपाध्यक्ष दलबहादुर बुढाथोकीले भने ।

ज्ञापनपत्र बुझेपछि गृहमन्त्री अर्यालले ब्रिटिस गोर्खाहरु त्रिपक्षीय सन्धि अन्तर्गत बेलायती सेनामा सेवा गरेकानाले नेपाल सरकार उनीहरूको नागरिकता निरन्तरताको सुनिश्चित गर्नुपर्नेमा सकारात्मक रहेको आश्वासन दिएका थिए । उनले थपेका थिए, ‘त्यसका लागि के कति गर्न सकिन्छ मेरो तर्फबाट मैले सक्दो सहयोग गर्नेछु ।’

त्यस्तै विदेशमा बस्ने नेपालीले विदेशबाटै मतदान गर्न पाउने गरी व्यवस्था गर्नका लागि सरकारले अध्यादेश मस्यौदा गरेर निर्वाचन आयोगमा पठाएको जनाउँदै उनले भने, ‘निर्वाचन आयोगले सहमतिका साथ फिर्ता पठाएको छ । अदालतको आदेश पनि मतदान दिने व्यवस्था गर्नु भन्ने छ । अब हामी त्यसलाई स्टेकहोल्डरहरुको सहमति लिएर अगाडि बढाउँछौं । यसमा गोर्खाहरूको विषय त पर्ने नै भयो । हाम्रो सरकार यस विषयप्रति गम्भीर रहेको र हामीहरू कसरी हुन्छ तपाईंहरूलाई समेट्ने प्रयत्नरत छौं ।’

प्रतिनिधिमण्डलको नेतृत्व समितिका अध्यक्ष थापाले गरेका थिए भने समितिका सचिव तथा वरिष्ठ अधिवक्ता आलेमगर, कोषाध्यक्ष खुनबहादुर राना साथै सीएनसीबीजीबाट पूर्णबहादुर राना, प्रितीमाया पुन, प्रितम घले र अम्बिकाकुमारी मगर सहभागी थिए ।

गृहमन्त्रीसँगको भेटपछि सीएनसीबीजीका अध्यक्ष थर्क रानाले यो महत्वपूर्ण भेटघाटको सम्पूर्ण व्यवस्था मिलाउने भूपूसैकसनेका अध्यक्ष थापा र सचिव आले साथै व्यस्त समयको बाबजुद पनि आफूहरु मागलाई सकारात्मक रूपमा लिई आफ्नोतर्फबाट सहयोगको आश्वासन दिएकोमा गृहमन्त्रीलाई धन्यवाद दिएका छन् । अध्यक्ष रानाले भने, ‘हामी गृहमन्त्रीज्यूको आश्वासनमा भर परेरमात्र बस्नेवाला छैनौं, स्मरणीय रहोस् गत नोभेम्बर २१, २०२५ का दिन सीएनसीबीजीले यसै सम्बन्धमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई नेपाली राजदूतावास लन्डनमार्फत ज्ञापन पत्र पठाएको छ, उक्त ज्ञापनपत्रको जवाफ हामी केही समय पर्खेर हेर्छौं । यो अभियान जस्तोसुकै परिस्थितिमा पनि निरन्तर रहने छ, जसको जवाफ हामीले पाउनुपर्छ ।’

अध्यक्ष रानाले सम्पूर्ण गोर्खा साथै गोर्खाका सन्ततिहरूलाई आफ्नो नैसर्गिक अधिकारको सुनिश्चितता गर्न अभियानमा सहभागी भइ आफ्नो तर्फबाट नैतिक, भौतिक साथै आर्थिक सहयोग गर्न सीएनसीबीजीको तर्फबाट अपिलसमेत गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!