
लन्डन १७ डिसेम्बर २०२५ । भूतपूर्व गोर्खाहरुको मागका विषयमा बेलायतमा भएको मन्त्रीस्तरीय वार्ता सकारात्मक भए पनि टुंगोमा पुग्न सकेन ।
लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा मंगलबार दिउँसो १६ डिसेम्बरमा गोर्खा प्रतिनिधिसमेतको सहभागितामा भएको त्रिपक्षीय वार्ता थप छलफल गर्ने सहमतिसहित टुंगिएको वार्तामा नेपाल सरकारको प्रतिनिधित्व गर्दै सहभागी बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले जानकारी दिए ।
समग्र विषयमा सकारात्मक रुपमा छलफल भएको तर मुद्दाहरु केन्द्रित छलफल हुन बाँकी रहेकाले अब अर्को चरणमा वार्ता गर्ने सहमति भएको कार्यवाहक राजदूत दुवाडीले बताए । वार्तामा सहभागी बेलायती मन्त्रीको ‘टोन’ र प्रस्तुति सकारात्मक रहेको भन्दै उनले थप छलफलबाट सकारात्मक नतिजा निस्किने आशा व्यक्त गरे ।
चाँडै अर्को चरणको वार्ता गर्ने सहमति भएपनि मिति तय हुन बाँकी रहेको दुवाडीले बताए ।
भूतपूर्व गोर्खाका प्रतिनिधिहरुले वार्तामा एजेन्डागत रुपमा ठोस छलफल हुन बाँकी रहेको बताए । वार्तामा सहभागी बेलायत सरकारकी भेट्रान्स मन्त्रीले पेन्सन बाहेकको विकल्पमा समाधान खोज्नुपर्ने आफूहरुको अडान दोहोर्याएको उनले जनाए।
झण्डै एकघण्टा चलेको वार्तामा बेलायतका तर्फबाट भेट्रान्स मन्त्री लुइस स्यान्डर जोन्स तथा नेपालका तर्फबाट कार्यवाहक राजदूत विपिन दुवाडीका साथमा सैनिक सहचारी सहायक रथी अनुप शाह सहभागी थिए ।
भूतपूर्व गोर्खाको प्रतिनिधित्व गर्दै जी१० समूहबाट मेजर जुदबहादुर गुरुङ, मेजर टिकेन्द्र दल देवान जेपी, मेजर उदयबहादुर गुरुङ एमबिइ र पुष्पा राणा घलेले भाग लिएका थिए ।
यस अघि पछिल्लो चार वर्ष तीन महिना अवधिमा प्राविधिक तहका दर्जन बैठक र मन्त्रीस्तरीय करिब आधा दर्जन वार्ता भए पनि निष्कर्ष भने निस्किन सकेको छैन।
एमओडीमा वार्ता सकिएपछि भूतपूर्व गोर्खा प्रतिनिधि र लन्डनस्थित दूतावासका कूटनीतिज्ञहरुबीच दूतावासमा थप छलफल भएको थियो ।दूतावासमा करिब दुई घण्टाभन्दा बढी समयसम्म ‘वाश-अप’ बैठक सम्पन्न भयो, जसमा कार्यवाहक राजदूत र सैनिक सहचारीबाट रचनात्मक सुझावहरू प्राप्त भएको छ ।दूतावास भएको बैठकमा श्री धर्म तामाङ, श्री धन बहादुर गुरुङ र श्री केश बहादुर गुरुङ पनि सहभागी भएका छन् ।
G10 को बैठक आइतवार २८ डिसेम्बर २०२५ मा आयोजना गर्ने सहमति भएको मेजर देवानले बताएका छन् । उक्त बैठकमा पहिलो प्राथमिकता तय गरी त्यसलाई कार्यवाहक राजदूत समक्ष पेश गरिनेछ, र उहाँले त्यसलाई भेटेरन्स मन्त्रीकहाँ पठाउनुहुनेछ। त्यसपछि पहिलो वास्तविक वार्ता सुरु हुनेछ।
हामी निश्चित समयसीमा तोक्न सक्दैनौँ, तर हालको प्रगतिलाई हेर्दा यो धेरै लामो समय लाग्ने छैन। निश्चय नै अर्को एक वर्ष जति लाग्ने अवस्था छैन। हामीले यस विषयमा दृढ रूपमा जोड दिएका छौँ, र भेटेरन्स मन्त्रीले पनि सकेसम्म चाँडो यसलाई समाधान गर्ने अभिप्राय राख्नुभएको छ।
अन्त्यमा वार्ता उज्यालो र सकरात्मक देखिन थालेको मेजर देवानले बताएका छन् ।






