
लन्डन १९ डिसेम्बर २०२५ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विविध धार्मिक कार्यक्रमकासाथ तमू (गुरुङ) हरुको महान् पर्व तमू ल्होछार मनाउने भएको छ । कार्यक्रम आउँदो मंगलबार ३० डिसेम्बर २०२५ अर्थात् २०८२ पौष १५ का दिन अल्डरसटस्थित बीसीसी गुम्बामा आयोजना गर्न लागिएको हो ।
नेपालबाट आमान्त्रित धर्मगुरु टुल्कु थुब्वाङ्ग तेन्जिङ्ग रिन्पोछे (सुजन गुरुङ) को बिशेष उपस्थितिमा सम्पन्न गर्न लागिएको कार्यक्रममा दिप प्रज्ज्वलन, घ्यासी (ग्रह शान्ति), आयु, साङ्ग, घनचक्र पूजा गरिने छ ।
धार्मिक पूजामा टुल्कु थुब्वाङ्ग तेन्जिङ्ग रिन्पोछे, बीसीसी यूकेका प्रमुख लामा खेन्पो छिरिङ्ग, लोपेन सोनाम, लोपेन जिग्ने, लामा अखिल, लामा दिनेश, लामा कर्मलगायत अन्य धर्मगुरुहरुको सहभागिता रहने छ ।
विश्वभर रहेका गुरुङहरुले प्रत्येक पौष १५ गते हुने ल्हो अर्थात् बर्ग परिवर्तनलाई बिशेष महत्वका साथ लिने गर्दछ । सोही अनुरुप यसबर्ष
विश्वभर रहेका गुरुङहरुले सर्प बर्गलाई बिदाई गर्दै घोडा बर्गलाई स्वागत गर्न लागिएको बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक मेजर हितमान गुरुङले जानकारी गराए ।
कार्यक्रममा तमु धिं युके, मगर संघ यूके, तामाङ्ग सोसाईटी यूके, थकाली समाज युके, शेर्पा एशोसिएशन युके, स्थानीय नेपाली संघसंस्था, धार्मिक संघसंस्था, बीसीसी लण्डन ब्रान्च, बीसीसी युकेका ट्रष्टी मेम्बर्सलगायत संघसंस्थालाई आमन्त्रण गरिएको बताइएको छ ।
बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म संचालन हुने कार्यक्रममा नयाँ लुंदा फेरिने छ । त्यस्तै, गुम्बाले ग्रहशान्तिका लागि सत्क्यु–पत्क्यु (गेडागुडी), नङ्गलगायतका सामाग्रीहरु संकलन गरिरहेकोले इच्छुक महानुभावहरुले मंगलबार ३० डिसेम्बरका दिन बिहान ११ बजे भित्र गुम्बामा ल्याईदिनहुन बीसीसी युकेले अनुरोध गरेको छ ।
निःशुल्क चियापान, खाजा र खानाको समेत व्यवस्था गरिएको कार्यक्रमका लागि भोजन दान र दीप प्रज्ज्वलन गर्न चाहने भक्तजनहरुले गुम्बामा सम्पर्क गर्न समेत बीसीसी युकेले हार्दिक अनुरोध छ ।
बीसीसी युकेका अध्यक्ष आङ्गदावा शेर्पाको अध्यक्षतामा सम्पन्न हुन लागेको ल्होछार कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि बीसीसी यूकेको सिंगो कार्यसमिति, आमा प्रमुख जगना गुरुङलगायत आमाहरु, पूर्व अध्यक्ष तथा पूर्व आमा प्रमुखहरुलगायत सल्लाहकारहरूले बिशेष जिम्मेवारी लिएको संयोजक मेजर गुरुङले जानकारी दिए । साथै, उनले धार्मिक पूजापाठका साथ आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी भैदिन हुन बेलायतवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक अनुरोध गरेको छ ।
बीसीसी युकेले तमू ल्होछार, सोनाम ल्होसार, ग्याल्पो ल्होसारलगायतका कार्यक्रमहरुमा बिशेष पूजापाठहरु गर्दै आएको छ ।






