लन्डन ३ जनवरी २०२६ । चारभन्ज्याङ तमु समाज यूके आमा समूहकी निवर्तमान प्रमुख समाजसेवी पञ्च गुरुङको निधन भएको छ ।
५७ वर्षीया गुरुङको भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा शुक्रबार २ जनवरी २०२६ मा निधन भएको चारभन्ज्याङ तमु समाज यूकेका निवर्तमान अध्यक्ष वेन कुमार गुरुङले जानकारी दिए ।
क्वोंने (घोताने/घोण्डे) गुरुङ तमु समाज यूकेको उपचेली प्रमुखसमेत रहेकी पञ्च गुरुङ बेलायतका विभिन्न संघ संस्थामार्फत सामाजिक काममा सक्रिय थिइन् । पञ्च गुरुङको जन्म २७ फेब्रुअरी १९६९ मा भएको हो ।
पञ्चको बेलायतको अल्डरसटस्थित निवासमा शनिबार दीप प्रज्वलन गरी परिवार, आफन्त र शुभचिन्तकले सम्झना गरेका छन् । पञ्चको अन्त्येष्टि काठमाडौंको स्वयम्भूमा गर्ने तयारी रहेको समाजका निवर्तमान अध्यक्ष बेन कुमारले जनाए ।
निवर्तमान अध्यक्ष बेन कुमारले आफ्नो कार्यकालका बेला पञ्च गुरुङ आमा प्रमुख रहँदा समाजलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे । पञ्च गुरुङको निधनले समाजलाई अपूरणीय क्षति पुगेको समेत उनले जनाएका छन् ।






