
लन्डन १९ जनवरी २०२६ । नेपालीहरुको बाहुल्यता रहेको बेलायतको अल्डरसटमा राहदानी तथा कन्सुलर घुम्ती शिविर सम्पन्न गरिएको छ ।
नेपाली राजदूतावास लन्डनले ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरूलाई लक्षित गर्दै शनिबार १७ जनवरीमा अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको प्रांगणमा शिविर आयोजना गरेको हो । शिविरबाट एकसय बढी नेपाली लाभान्वित भएका दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले जानकारी दिएका छन् । उनका अनुसार शिविरमा विद्युतीय राहदानी नवीकरण, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, पर्यटक भिसा, एकतर्फी यात्रा अनुमतिपत्र र गैरआवासीय नेपाली परिचय पत्र (एनआरएन आइडी) सम्बन्धी सेवा उपलब्ध गराइएको थियो ।
अल्डरसटमा शिविर सञ्चालनका लागि ग्रेटर रसमोर नेपाली कम्युनिटी र शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका प्रतिनिधिहरुले समन्वय र सहयोग गरेका थिए ।






