तमु समाज युकेको ल्होछार समीक्षा बैठक : प्रदेश सांसद पञ्चराम गुरुङलाई स्वागत एवं सम्मान

SHARE:


शिब कुमार गुरुङ

लन्डन २० जनवरी २०२६ । तमु समाज युकेद्वारा आयोजित ल्होछार समीक्षा बैठक तथा नेपालबाट बेलायत भ्रमणमा आएका गण्डकी प्रदेश सभा सदस्य पञ्चराम गुरुङको भव्य स्वागत तथा सम्मान गरिएको छ ।

१८ जनवरी २०२६ का दिन समाजकै आफ्नै सामुदायिक भवन, बारहम पार्क, वोम्बलीमा बैठक तथा स्वागत, सम्मान कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको हो ।

ल्होछार समीक्षा बैठक:
समाजको पहिलो चरणको कार्यक्रमअन्तर्गत सम्पन्न समीक्षा बैठकको अध्यक्षता तमु समाज युकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले गरेकी थिइन् भने बैठक सञ्चालन सचिव क्याप्टेन तेसरजंग गुरुङले गरेका थिए । बैठकमा उपस्थित सदस्यहरूलाई उपाध्यक्ष भिम बहादुर गुरुङको स्वागत मन्तव्यपश्चात् एजेन्डाअनुसार कार्यक्रम अगाडि बढाइएको थियो ।

बैठकमा सर्वप्रथम समाजका कोषाध्यक्ष चन्द्रकान्त गुरुङले हालै सम्पन्न ल्होछार सेलिब्रेसन कार्यक्रमको आय–व्यय विवरण प्रस्तुत गरे। यस अवसरमा उनले तमु समाज युकेले ल्होछार कार्यक्रमबाट धेरै समय पछि आर्थिक रूपमा मुनाफा गर्न सफल भएको जानकारी दिएका थिए, जसलाई बैठकले सकारात्मक उपलब्धिका रूपमा लिएको थियो ।

त्यसपछि ल्होछार कार्यक्रमका क्रममा देखिएका कमी–कमजोरी, सुधारका सम्भावना तथा आगामी दिनमा कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको थियो। केही कार्यविधि सुधार गर्दै लैजाने र केही गतिविधिहरू आगामी कार्यक्रमहरूमा समावेश नगर्ने निर्णयसमेत गरिएको थियो।

राम्रो कार्यसम्पादन गर्ने कार्यकर्ताहरूलाई प्रोत्साहन गर्ने निर्णय पनि बैठकले गरेको थियो। बैठकको एजेन्डा टिपोट सचिव क्याप्टेन तेसरजंग गुरुङले गरेका थिए ।

बैठकको अन्त्यमा अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले ल्होछार कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिन् । विशेषगरी कार्यक्रम संयोजक उपाध्यक्ष केदार बहादुर गुरुङ, सल्लाहकार धरमबल गुरुङ, प्रायोजक खोजीमार्फत आर्थिक भार कम गर्न महत्वपूर्ण भूमिका खेल्ने संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्वअध्यक्ष शिवचन्द्र गुरुङ, अतिथिहरूको भोजन व्यवस्थापनमा खटिएका आमा समूह, समाजका युवा कलाकारहरूप्रति विशेष आभार प्रकट गरिन् ।

बिहान ११ बजे सुरु भएको समीक्षा बैठक अपराह्न ४ बजे समापन भएको थियो।

सांसद पञ्चराम गुरुङको स्वागत तथा सम्मान
कार्यक्रमको दोस्रो चरणमा क्वोंने (घोताने/घोन्डे) तमु समाज युकेको विशेष समन्वय तथा पहलमा, नेपालबाट विशेष निमन्त्रणामा बेलायत आएका गण्डकी प्रदेश सभा सदस्य पञ्चराम गुरुङको तमु समाज युकेद्वारा भव्य स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रमको अध्यक्षता तमु समाज युकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले गरेकी थिइन् ।

कार्यक्रममा समाजका सचिव क्याप्टेन तेसरजंग गुरुङले प्रमुख अतिथि पञ्चराम गुरुङको परिचय प्रस्तुत गरेका थिए । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश अध्यक्ष, संसदीय दलका नेता तथा पूर्वसामाजिक विकास तथा स्वास्थ्यमन्त्रीको हैसियतमा गण्डकी प्रदेशको सामाजिक, स्वास्थ्य र विकास क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको निष्ठावान, सादा र जनसमर्पित नेताको रूपमा परिचित व्यक्तित्व हुन् ।

स्याङ्जा जिल्लाबाट निर्वाचित गुरुङ, गुरुङ समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण तथा सबै जातजातिबीच सद्भाव र एकता कायम गर्न निरन्तर क्रियाशील रहँदै आएको जानकारी गराइएको थियो। यस अवसरमा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले तमु समाज युकेको स्थापना, उद्देश्य र गतिविधिबारे संक्षिप्त जानकारीमूलक मन्तव्य राखेका थिए ।

त्यसपछि समाजका तर्फबाट अध्यक्ष बिन्दुकुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ तथा आमा समूहकी अध्यक्ष बिमला गुरुङद्वारा गुरुङलाई खादा, फेटा, पुष्पगुच्छा तथा मायाको चिनो प्रदान गरिएको थियो। प्रत्युत्तरस्वरूप पञ्चराम गुरुङले पनि समाजकी अध्यक्षलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा उपस्थित सबैले सम्मानस्वरूप खादा अर्पण गरेका थिए ।

सांसद गुरुङको सम्बोधन
सम्मान ग्रहणपछि सांसद पञ्चराम गुरुङले भावुक मन्तव्य राख्दै तमु समाज युकेले देखाएको आत्मीयता र सम्मानप्रति गहिरो आभार व्यक्त गरे । उनले आफू सादा, इमानदार र जनसमर्पित राजनीति गर्ने विश्वासका साथ अघि बढिरहेको उल्लेख गर्दै बोलीभन्दा काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “तपाईंहरूले मप्रति दर्शाउनुभएको यो अगाध सद्भावलाई म कहिल्यै डगमगाउन दिने छैन। एउटा गुरुङको छोरा हुनुको नाताले देश र जनताप्रति सधैं वफादार रहेर काम गर्ने र हाम्रो समुदायको शिर सधैं उच्च राख्ने दृढ संकल्प गर्दछु भन्नु भएको थियो।”

आफ्नो पार्टीबाट गण्डकी प्रदेशका इन्चार्जको रूपमा विभिन्न जिल्लाका गुरुङ बस्तीहरू भ्रमण गर्ने क्रममा देखिएको यथार्थतर्फ संकेत गर्दै उनले गुरुङ बस्तीहरूबाट भइरहेको पलायनका कारण धेरै गाउँघर रित्तिँदै गएको, विकासमा पहुँचको अभाव तथा राज्यसँगको दूरीबारे गम्भीर चिन्ता व्यक्त गरे ।

अन्य समुदायका गाउँहरूमा सरकारी लगानीमार्फत विकास भइरहँदा गुरुङ बस्तीहरूमा भने प्रायः वैदेशिक सहयोग र आफ्नै समुदायको योगदानमा आधारित विकास भइरहेको अवस्था रहेको उल्लेख गर्दै, राज्यसँग आफ्ना हक अधिकार दाबी गर्न सबैलाई सचेत र संगठित हुन आग्रह गरे । विदेशको मात्र भर नपरी आफ्नै देशमै अवसर सिर्जना गर्दै अघि बढ्नुपर्नेमा उनले विशेष जोड दिए । सरकारी सेवा-सुविधा लिने प्रक्रिया झन्झटिलो भए तापनि त्यसको सामना गरेर अघि बढ्न सुझाव दिँदै उनले यस कार्यमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत जाहेर गर्नुभयो।”

पुरस्कार तथा सम्मान:
कार्यक्रममा गत ३ डिसेम्बर २०२६ मा आयोजित ल्होछार कार्यक्रममा गुरुङ भेषभूषा प्रतियोगितामा उत्कृष्ट महिला निर्मला गुरुङ र उत्कृष्ट पुरुषतर्फ रूपककुमार गुरुङलाई प्रमुख अतिथिको हातबाट पुरस्कार प्रदान गरिएको थियो । साथै ल्होछार कार्यक्रममा नृत्य प्रस्तुत गर्ने तमु समाज युकेका युवा कलाकारहरू प्रज्ज्वलमान गुरुङ, सुमि गुरुङ, सुबिना घले, सुजिता गुरुङ, सुविध गुरुङ, निस्चल गुरुङ र दिपन गुरुङलाई पनि सम्मान गरिएको थियो।

धन्यवाद मन्तव्य र समापन
कार्यक्रमको अन्त्यमा समाजकी अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेले धन्यवाद मन्तव्य व्यक्त गर्दै, व्यस्त समयका बाबजुद पनि तमु समाज युकेको निमन्त्रणालाई स्वीकार गरी आएका पञ्चराम गुरुङप्रति गहिरो कृतज्ञता व्यक्त गरे । साथै प्रमुख अतिथिको उपस्थितिलाई सुनिश्चित गर्न विशेष भूमिका खेलेका क्वोंने (घोताने/घोन्डे) तमु समाज युकेका महासचिव इन्द्र गुरुङप्रति विशेष धन्यवाद व्यक्त गरिन् ।

त्यसैगरी कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने तमु समाज युकेका पदाधिकारी, स्वयंसेवक तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रम समापनको घोषणा गरिन् ।

कार्यक्रममा समाजका पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिब कुमार गुरुङ कार्यसमिति सदस्यहरू, सल्लाहकारहरू, आमा समूहका पूर्वअध्यक्ष माया गुरुङ , युवा समूहका अध्यक्ष प्रज्ज्वलमान गुरुङ, आजीवन सदस्य तथा युवा दाजुभाइ, दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रमपछि आयोजित रात्रिभोजमा सहभागी भई सबैले आपसी भलाकुसारीसहित आनन्द लिएका थिए। उक्त भोजको क्याटरिङ व्यवस्था दरबार रेस्टुरेन्टबाट गरिएको थियो भने समग्र व्यवस्थापन उपाध्यक्ष भीम बहादुर गुरुङले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!