
लन्डन २३ जनवरी २०२६ । नेपाली एलायन्स, ग्रिनविच र बेक्स्लीले आगामी मेमा हुने स्थानीय निर्वाचनका लागि सम्भावित ६ उम्मेदवारहरुको पहिचान गरेको छ ।
हालै बसेको बैठकले दासुराम पाण्डे – चार्लटन क्षेत्र, टम अधिकारी – उल्विच क्षेत्र, लिला देवी गुरुङ – प्लमस्टेड क्षेत्र, नरेन्द्र कँडेल – प्लमस्टेड क्षेत्र, हेतल पाधर – प्लमस्टेड कमन र पंकज पौडेल – वेलिङ क्षेत्र (बेक्स्ली)बाट पहिचान गरिएको नेपाली एलायन्सले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । नेपाली समुदायको स्थानीय राजनीतिक प्रतिनिधित्व सुदृढ गर्ने उद्देश्यसहित सक्रिय पहल अघि बढाएको जनाइएको छ ।
‘ग्रिनविच र बेक्स्ली क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली समुदायले स्थानीय तहमा भोग्दै आएका सामाजिक, आर्थिक तथा नागरिक सरोकारका विषयहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न स्थानीय काउन्सिलहरूमा बलियो नेपाली उपस्थिति आवश्यक रहेको नेपाली एलायन्सको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ,
नेपाली एलायन्सले यी उम्मेदवारहरूलाई स्थानीय निर्वाचनमा अघि बढ्न प्रोत्साहन गर्ने निर्णय गरेको जनाउँदै अन्य इच्छुक, सक्षम तथा प्रतिबद्ध नेपाली समुदायका सदस्यहरूलाई पनि उम्मेदवारीका लागि अगाडि आउन आह्वान गरेको छ । स्थानीय निर्वाचनमार्फत नेपाली एलायन्सले स्थानीय काउन्सिलहरूमा सशक्त रूपमा उठाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।
नेपाली समुदायका लागि स्थानीय सेवामा पहुँच र गुणस्तर सुधार, गोर्खा तथा नेपाली समुदायका बसोबास, नागरिकता र समान पेन्सन अधिकार, नयाँ आप्रवासन नीतिका कारण समुदायमा परेको प्रभाव, युवाको सहभागिता, नेतृत्व विकास र समावेशी प्रतिनिधित्वको विषय उठाउने जनाइएको छ ।
नेपाली एलायन्स, ग्रिनविच र बेक्स्लीले सम्पूर्ण नेपाली समुदाय, संघ–संस्था तथा युवावर्गलाई मे २०२६ को स्थानीय निर्वाचनमा सक्रिय सहभागिता जनाई लोकतान्त्रिक प्रक्रियामार्फत समुदायको आवाज बलियो बनाउन अनुरोधसमेत गरेको छ ।






