अल्डरसट यूके २४ जनवरी २०२६ । किराँत सुनुवार सेवा समाज बेलायत (केएसडब्लुएस यूके)को वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ ।
बेलायतको अल्डरसटस्थित ओजोनमा शनिबार २४ तारिखमा केएसडब्लुएस यूकेको साधारणसभा सौहार्दपूर्ण, आत्मीय तथा उल्लासमय वातावरणमा सम्पन्न भएको हो । कार्यक्रमको औपचारिक सञ्चालन समाजका सचिव सकुन सुनुवारले गरेका थिए भने सभामा उपस्थित सम्पूर्ण सदस्य तथा अतिथिहरूलाई केदार सुनुवार सङ्केतले स्वागत मन्तव्य दिएका थिए ।
साधारणसभामा किराँत सुनुवार सेवा समाज बेलायतका पूर्वअध्यक्ष यादव तुर्सुचा, जितेन सुनुवार , सल्लाहकार छत्र सुनुवारलगायत पूर्वकोषाध्यक्ष इन्द्र सुनुवार, संस्थाका सदस्यहरू चन्द्रकुमार कोर्मोचा, नरेन्द्र सुनुवार, गौरीधन सुनुवार, पार्वती सुनुवार, शुभद्रा सुनुवार, दिलीप सुनुवारलगायतको बाक्लो उपस्थिति थियो ।

कार्यक्रमको पहिलो चरणमा समाजका विभिन्न वार्षिक प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए । यस क्रममा समाजका अध्यक्ष आकाश सुनुवारले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष खजेन्द्र सुनुवारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैगरी शिक्षा कोष (Education Fund) सम्बन्धी प्रतिवेदन उपाध्यक्ष प्रकाश जिजिच सुनुवार कार्यक्रममा उपस्थित हुन नसकेका कारण सचिव सकुन सुनुवारद्वारा प्रस्तुत गरिएको थियो ।
त्यसै अवसरमा केएसडब्लुएस यूकेको सम्पत्ति (Property) सम्बन्धी विस्तृत जानकारी मिलन सुनुवारले सभासमक्ष प्रस्तुत गरे । कार्यक्रमको मध्याह्नमा सहभागीहरूका लागि खाजाको व्यवस्था गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा कोइँच सुनुवार समुदायको स्मारिका “प्लेँ:कास”को औपचारिक विमोचन गरिएको थियो । स्मारिकाको सामूहिक विमोचन ज्येष्ठ नागरिक सल्लाहकार छत्र सुनुवार, समाजका अध्यक्ष आकाश सुनुवार तथा शुभद्रा सुनुवारद्वारा गरिएको थियो । यसै चरणमा समाजको घर खरिदसम्बन्धी रोडम्याप र यसको संक्षिप्त विवरण संयोजक केदार सुनुवार सङ्केतले प्रस्तुत गरेका थिए ।

आउँदो वर्षका लागि तय गरिएका कार्ययोजना तथा एजेन्डाहरू पारित गरिएपछि स्मारिका प्लेँ:कासभित्र समावेश गरिएको एउटा कविता वाचन पनि गरिएको थियो, जसले कार्यक्रममा साहित्यिक र भावनात्मक गहिराइ थपेको देखिन्थ्यो ।
कार्यक्रमको अन्त्यतिर प्रश्नोत्तर सत्र सञ्चालन गरी सहभागीहरूले उठाएका जिज्ञासाहरूको स्पष्ट जवाफ दिइयो । आपसी छलफल, सुझाव आदानप्रदान तथा पारदर्शिताको अभ्यास यस वार्षिक साधारणसभामा सशक्त र सकारात्मक ढङ्गले प्रस्तुत भएको देखियो ।






