कास्की -SK Gurung
माछापुच्छ्रे हिमश्रृंखलाको काखमा अवस्थित ल्वाङ गाउँमा गुरुङ (तमु) समुदायको मौलिक पहिचान बोकेको क्होइबो धिं निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। गाउँको धार्मिक, सामाजिक तथा सांस्कृतिक जीवनलाई मजबुत बनाउने उद्देश्यका साथ सुरु गरिएको यस निर्माणमा देश तथा विदेशबाट सहयोग आउने क्रम निरन्तर जारी छ।
क्होइबो धिं निर्माण केवल धार्मिक कार्यमा सीमित नभई गाउँको समग्र सामाजिक, सांस्कृतिक र आर्थिक विकासको आधारका रूपमा हेरिएको छ। स्थानीय बासिन्दाहरू एकजुट भई सामूहिक श्रम, सहयोग र समर्पणका साथ निर्माणमा जुटेका छन्। गाउँमा क्होइबो धिं निर्माण भएपछि ल्वाङको पहिचान, शान्ति र समृद्धिको प्रतीकका रूपमा स्थापित हुने विश्वास गरिएको छ।
निर्माण समिति अध्यक्ष इन्द्र गुरुङले क्होइबो धिं निर्माण कार्यलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्दै यसले धार्मिक कार्यसँगै पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण टेवा पुर्याउने बताए। “गाउँको आवश्यकताअनुसार तमु रीतिरिवाजअनुसार पूजा–पाठ तथा संस्कारहरू सञ्चालन गर्न सहज हुनेछ,” उनले भने।
क्होइबो धिं निर्माणसँगै ल्वाङ गाउँ मौलिक संस्कृति संरक्षण र सामुदायिक एकताको उत्कृष्ट उदाहरणका रूपमा चिनिन थालेको छ। यसले गुरुङ (तमु) समुदायको परम्परा, संस्कार र जीवनशैलीलाई एकै स्थानमा अनुभूति गराउने केन्द्रका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
हाल ल्वाङ गाउँ केवल भ्रमण गर्ने गन्तव्य मात्र नभई शान्ति, अपनत्व र नेपाली पहिचानको अनुभूति गराउने स्थलका रूपमा परिचित हुँदै गएको छ। प्रकृतिको काखमा संस्कृति जोगाउँदै निरन्तर अघि बढिरहेको ल्वाङ आजको नेपालका लागि प्रेरणाको स्रोत बनेको स्थानीयवासीहरूको भनाइ छ।


