लन्डन ७ फेब्रुअरी २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ महाधिवेशन (मार्च १४–१६) मा बेलायतबाट डा हेमराज शर्माले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
रिब्रान्डिङ एनआरएनएको मुख्य उद्देश्यसहित नयाँ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिइएको डा. शर्माले जानकारी दिए । उनी हाल उपाध्यक्ष छन् । डा शर्माले यही आइतबार ८ फेब्रुअरी २०२६ मा आफ्नो ‘उम्मेदवारी घोषणा कार्यक्रम’ समेत रहेको जनाएका छन् ।
समय अपरान्ह ४ बजे (नेपाल समय) तय गरिएको छ ।
Zoom विवरण:
Meeting ID: 827 0052 5670
Passcode: 2026
Zoom Link: https://us06web.zoom.us/j/82700525670?pwd=YQU9Trplot8CJc1Rem8B4cJCWGa7Nu.1
कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्दै शुभेच्छा, सुझाव तथा मार्गदर्शन प्रदान गरिदिन पनि आग्रह गरेका छन् ।
बागलुङको अमलाचौरमा जन्मिएका शर्मा एनआरएनभित्रका सक्रिय प्राज्ञिक व्यक्तित्वको रुपमा परिचित छन् । उनले भौतिकशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडल समेत हासिल गरेका छन् । उनले सन् १९९७ मा जापानको रिक्यो विश्वविद्यालयमा मास्टर्स कोर्स गरेका थिए भने १९९८ मा इटालीबाट थप मास्टर्स डिग्री हासिल गरे । उनले सन् २००२ मा फ्री युनिभर्सिटी बर्लिनबाट ‘फिजिक्स’ मै पिएचडी गरेका हुन् ।
सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत आएसँगै त्यहाँको आइसीसी सदस्यमा मनोनीत भएका थिए । उनी एनआरएनए विधान समितिका संयोजक समेत थिए ।
संघका संस्थापक नेताहरु तथा सबै पूर्वअध्यक्षहरुसँग निकट रहेर काम गरेको अनुभव बटुलेका शर्माले पूर्वअध्यक्ष जीवा लामिछानेको कार्यकालमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।
५० भन्दा बढी विद्यार्थीको विद्यावारिधि ‘सुपरभाइज’ गरिसकेका उनले संघको परिमार्जित नयाँ विधान २००७ को खाका र नियमावली मस्यौदासमेत तयार पारेका थिए ।


