तमु धीं यूकेद्वारा पोखरा म्याराथनको प्रथम पुरस्कार लागि ४ लाख १५ हजार प्रदान

SHARE:

लन्डन १५ फेब्रुअरी २०२६ । तमु धीं यूकेले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रथम पुरस्कार लागि ४ लाख १५ हजार प्रदान गरेको छ ।

पहिलो पुरस्कारका लागि ४ लाख १५ हजार रुपैयाँ तमु धीं यूकेका उपाध्यक्ष गुरुङ र महासचिव डा विशाल गुरुङले आयोजक भूतपूर्व खेलाडी मञ्चलाई शनिबार चेक हस्तान्तरण गरेको तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले जानकारी दिए ।

शनिबार आयोजित २५ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरियूकी वाहोमेले जिते । उनले २ घण्टा २३ मिनेट ३९ सेकेन्डमा दूरी पूरा गरेका थिए ।

प्रतियोगितामा नेपाली धावक गजेन्द्र राई दोस्रो र हरिकुमार रिमाल तेस्रो स्थानमा रहे, विभिन्न विधामा विजेताहरूले नगद पुरस्कार र पदक प्राप्त गरे।

यस वर्षको म्याराथनमा १० हजारभन्दा बढी धावकको सहभागिता रहेको आयोजकले जनाएको छ ।

नेपाली क्याटगोरीमा गजेन्द्र राई शीर्ष स्थानमा रहँदै थप १ लाख रुपैयाँ र पदक हात पारे । उक्त विधामा हरिकुमार रिमाल दोस्रो र करण रावल तेस्रो भए । उनीहरूले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ जिते ।

गण्डकीतर्फ पर्वतका सुवास गुरुङ पहिलो, गोरखाका निरोज भट्ट दोस्रो र स्याङ्जाका धनु मानन्धर तेस्रो हुँदै क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

४५ वर्ष माथिको भेट्रान म्याराथनमा रैवतबहादुर दाहाल, सुशीलकुमार श्रेष्ठ र चेतनाथ चालिसेले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित पहिलो तीन स्थान हासिल गरे।

२१ किलोमिटर हाफ म्याराथन प्रतियोगिताको पुरुषतर्फ सञ्जय श्रेष्ठले उपाधि जितेका छन् । उनीपछि नगेन्द्रसिंह राउत दोस्रो र गौतम श्रेष्ठ तेस्रो भए ।

महिलातर्फको हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ च्याम्पियन बन्न सफल भइन् । निशा सार्की र राज्यलक्ष्मी रावलले क्रमशः रजत र कांस्य पदक जिते । पुरुष तथा महिला दुवैतर्फको हाफ म्याराथनमा विजेताले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रो स्थान हासिल गर्नेले ३० हजार रुपैयाँ पुरस्कार पाए ।

४५ वर्ष माथिको भेट्रान पुरुष हाफ म्याराथनमा धर्म महर्जन, तेजबहादुर गुरुङ र कमल गुरुङले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्दै २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

१० किलोमिटर पुरुष दौडमा नागेश्वर अहिर, उमेश विष्ट र महेन्द्रबहादुर बोगटीले पहिलो तीन स्थान हासिल गरे भने महिलातर्फ दीपा परियार, सुमित्रा कुमारी चौधरी र नारायणी भण्डारी शीर्ष तीनमा रहे। यस स्पर्धामा विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार पाए ।

५ किलोमिटर छात्रतर्फ रोशनकुमार माझी पहिलो, रुपेशकुमार माझी दोस्रो र सगुन लामिछाने तेस्रो भए । छात्रातर्फ एञ्जिला जिटी, साधना परियार र अनुषा बुढाले क्रमशः पहिलो तीन स्थान हासिल गरे ।

खुल्ला ५ किलोमिटर पुरुषतर्फ सन्तोषनाथ योगी, बादल कार्की र तुलबहादुर झेण्डी, महिलातर्फ टीका खड्का, दृष्टि आले र पूर्णकाशी गुरुङ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

५० वर्ष माथिको भेट्रान पुरुष ५ किलोमिटरमा राजु भण्डारी, किशोर थापा र आईलाल शाहीले स्वर्ण, रजत र कांस्य पदक जिते । ४५ वर्ष माथिको भेट्रान महिलातर्फ टोलमाया थापा, जगनसुबा गुरुङ र विष्णु ठकुरी शीर्ष तीनमा रहे ।

कर्पोरेट श्रेणीको ५ किलोमिटर पुरुष दौडमा सुशन थापा पहिलो, दीवेश रिजाल दोस्रो र राजु गुरुङ तेस्रो भए । महिलातर्फ पवित्रा सुवेदी, खड्कदेवी बास्तोला र विनुता पाण्डे क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । यी सबै स्पर्धामा विजेताले १० हजार, उपविजेताले ७ हजार र तेस्रो स्थान हासिल गर्नेले ५ हजार रुपैयाँ पुरस्कार पाए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतियोगिताको उद्घाटन गरेका थिए । आयोजकका अनुसार प्रतियोगितामा ३ हजार ६ सय १ जना धावकले प्रतियोगितात्मक रूपमा र ६ हजार ५ सय जनाले ‘रन फर फन’मा सहभागिता जनाएका थिए । यसरी कुल १० हजार धावक पोखरा म्याराथनमा सहभागी भएको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।

पोखरा रंगशालाबाट सुरु भएको म्याराथन अमरसिंहचोक, मियापाटन, माटेपानी, फुलबारी, बगर, विन्ध्यवासिनी, अर्चलबोट, मालेपाटन, जिरो किमी, हल्लनचोक, खहरे, खपौंदी हुँदै फेवाताल पारी घाँटीछिना पुगेर पुनः त्यहाँबाट फर्किएर बाराहीघाट मैदानमा अन्त्य भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!